विद्युत् रोयल्टी बापत सरकारले उठायो ३ अर्ब १५ करोड

काठमाडौं । सरकारले विभिन्न जलविद्युत् आयोजनाबाट ३ अर्ब १५ करोड ५१ लाख ८८ हजार रुपैयाँ बराबरको रोयल्टी सङ्कलन गरेको छ ।

सरकारले निर्माण सम्पन्न भई सञ्चालनमा रहेका आयोजनाबाट निश्चित रकम रोयल्टीबापत सङ्कलन गर्ने गर्छ । विगतमा आयोजनाका प्रवर्द्धकले आफ्नो अनुकूलतामा रोयल्टी बुझाउने गरेका थिए । पछिल्ला केही वर्षदेखि भने नेपाल विद्युत् प्राधिकरणले बिल भुक्तानी गर्ने समयमा नै रोयल्टी कटाएर राख्ने गरेको छ । सोही कारण नियमितरूपमा रोयल्टी सङ्कलन हुने गरेको छ ।

विद्युत् विकास विभागले नियमितरूपमा रोयल्टी उपलब्ध गराउन आयोजनाका प्रवर्द्धकलाई आग्रह गर्दै आएको छ । विद्युत् ऐन, २०४९ तथा विद्युत् नियमावली, २०५० बमोजिम विद्युत् उत्पादनको अनमुतिपत्र प्राप्त संस्थाले बुझाउनुपर्ने आर्थिक वर्ष २०७९÷८० सम्मको विद्युत् रोयल्टी जम्मा गर्नुपर्ने व्यवस्था छ ।

विभागले केही आयोजनाले रोयल्टी फरफारक नगरेको पाइएपछि पुनः जम्मा गर्न भनेको छ । विभागले रोयल्टी व्यवस्थापनसम्बन्धी आवश्यक विवरणअनुसार आफ्नो आयोजनाको रोयल्टी विवरण रुजु गराउन सूचनामार्फत सूचीसमेत गरेको महानिर्देशक चिरञ्जीवी चटौतले जानकारी दिए ।

रोयल्टी फरफारक नगर्ने आयोजनालाई भने प्राधिकरणमा पत्राचार गरेर असुलउपर गरिने स्पष्ट पारेको छ । सङ्कलन भएको रोयल्टी स्थानीय आयोजना प्रभावित क्षेत्रमा उपलब्ध गराउने व्यवस्था छ ।

विभागले अनुमतिपत्र दस्तुरबाट रु १ अर्ब १५ करोड ५ लाख ५६ हजारबराबर सङ्कलन गरेको छ । यस्तै दण्ड जरिवाना, जफतबाट रु ८७ लाख, बेरुजुबाट रु ४२ लाख बराबर सङ्कलन गरेको छ । विभागले सो आवमा रु ४ अर्ब ३१ करोड ८६ लाख ५० हजारबराबर कुल राजस्व सङ्कलन गरेको छ ।

यस्तै, चालु आवको पुस १६ गतेसम्म रोयल्टीबापत रु ५९ कोड ५५ लाख ५८ हजारबराबर रोयल्टी सङ्कलन गरेको छ । अनुमति दस्तुरबाट रु १६ करोड २४ लाख ८० हजार सङ्कलन गरेको विभागले दण्ड जरिवानालगायतबाट रु ४५ लाखबराबर सङ्कलन गरेको छ ।

विभागले हालसम्म कुल ४१ वटा जलविद्युत् आयोजना र दुईवटा सौर्य परियोजना गरी कुल ४३ वटा आयोजनाको सर्वेक्षणका लागि दरखास्त परेको छ । ती आयोजनाको कुल क्षमता तीन हजार १६ मेगावाट बराबर छ । त्यस्तै सर्वेक्षण जारी भएका आयोजनाको सङ्ख्या १४३ छ । विभागका अनुसार ९३ वटा जलविद्युत् आयोजना र ४२ वटा सौर्य परियोजना छन् । ती आयोजनाको कुल क्षमता नौ हजार ६५५ मेगावाट बराबर छ ।

विभागका अनुसार उत्पादन अनुमतिपत्र दरखास्त दिने आयोजनाको सङ्ख्या एक सय पाँच छ । ती आयोजनाको क्षमता ११ हजार ५८३ मेगावाट छ । त्यस्तै विद्युत् उतपादन अनुमतिपत्र लिएका आयोजनाको सङ्ख्या एक १५४ वटा छन् । ती आयोजनाको कुल क्षमता ९ हजार २२१ छ ।

विभागले १ हजार ७६५ सर्किट किलोमिटर बराबर प्रसारण लाइन निर्माणका लागि सर्वेक्षण अनुमतिपत्रका लागि आवेदन परेको छ । त्यस्तै विभागले ४ हजार ८९५ सर्किट किलोमिटर बराबरको प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ । त्यसमा ४०० केभी क्षमताका सातवटा आयोजनालाई अनुमति दिइएको छ । त्यस्तै २२० केभी क्षमताका २५, १३२ केभी क्षमताका १०१, ६६ केभी क्षमताका पाँच, ३३ केभी क्षमताका ८४ र ११ केभी क्षमताका एक प्रसारण लाइन निर्माणका लागि अनुमति दिइएको छ ।

सुर्खेतबाट कर्णालीका आधादर्जन गन्तव्यमा उडान गर्दै नेपाल एयरलाइन्स Read Previous

सुर्खेतबाट कर्णालीका आधादर्जन गन्तव्यमा उडान गर्दै नेपाल एयरलाइन्स

बर्दघाटमा नमूना औद्योगिक ग्राम निर्माण सुरू Read Next

बर्दघाटमा नमूना औद्योगिक ग्राम निर्माण सुरू