माउन्टेन इनर्जीले ६ महिनामा कमायो ३५ करोड खुद नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । माउन्टेन इनर्जी नेपालको खुद नाफामा झिनो गिरावट आएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार खुद नाफा १.६३ प्रतिशतले घटेको हो ।

कम्पनीले पुस मसान्तसम्म ३५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५५ लाख रुपैयाँ कम हो । गत वर्ष सोही अवधिमा कम्पनीले ३५ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

विद्युत् बिक्रीबाट हुने आम्दानी घट्दा कम्पनीको नाफामा सामान्य गिरावट आएको हो । गत वर्ष पुससम्म ७४ करोड ४० लाख रुपैयाँ बिजुली बेचेको कम्पनीले चालु वर्षको सोही अवधिमा ७३ करोड ५२ लाख रुपैयाँको बिजुली बेचेको छ ।

समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च २७.७४ प्रतिशतले घटेर ४२ लाख ९० हजार रुपैयाँमा सीमित भएको छ ।
हाल १ अर्ब ९६ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब ५२ करोड १७ लाख रुपैयाँ छ ।

खुद नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि झिनो गिरावट आएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३६.१७ रुपैयाँबाट घटेर ३५.५८ रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १७७.३२ रुपैयाँ पुगेको छ ।

माउन्टेन इनर्जी नेप्सेमा सूचीकृत भएका ७९ हाइड्रोपावर मध्ये सबैभन्दा महँगो सेयर मूल्य भएको कम्पनी हो । मंगलबार यसको सेयर प्रतिकित्ता ८९० रुपैयाँमा कारोबार भइरहेको छ ।

डेडिकेटेड र ट्रंक लाइन विवाद : १० दिन भित्र प्रमाण बुझाउन उद्योगी र प्राधिकरणलाई निर्देशन Read Previous

डेडिकेटेड र ट्रंक लाइन विवाद : १० दिन भित्र प्रमाण बुझाउन उद्योगी र प्राधिकरणलाई निर्देशन

सरकारी अनुदानको मल बाटोबाटै गायब ! Read Next

सरकारी अनुदानको मल बाटोबाटै गायब !