काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । गत बुधबारदेखि ओरालो लागेको नेप्से आज लगातार छैटौं दिन घटेको हो । ६ दिनमा नेप्से ८८ अंकले घटेको छ ।
सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४३ करोडले घटेर ३ अर्ब ८९ करोड रुपैयाँमा सीमित भएको छ ।
बुधबार नेप्से परिसूचक १०.२५ अंकले घटेर २०८८.०४ विन्दुमा आइपुगेको छ । यसदिन ३११ कम्पनीको १ करोड १० लाख ४९ हजार ९४९ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये बैंकिङ र म्युचुअल फण्ड बाहेक अरुसबै समूहको परिसूचक घटेको छ । लगानी समूहको परिसूचक सर्वाधिक १.६५ प्रतिशतले घटेको छ ।
आज पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको २५ करोड १६ लाख रुपैयाँको ३ लाख ७९ हजार ८३३ कित्ता सेयर किनबेच भएको छ ।
दोहोरो अंकले घटेको बजारमा पनि आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । चन्द्रागिरि हिल्स र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।