काठमाडौं । मंगलबार चन्द्रागिरि हिल्सको सेयर मूल्यमा तीव्र उतरचढाव आएको छ । संस्थापक, स्थानीय र कर्मचारीको ‘लकइन पिरियड’ फुकुवा भएकै दिन कम्पनीको सेयर मूल्यमा १८ प्रतिशतको उतरचढाव आएको हो ।
यसअघि नेप्सेमा सूचीकृत अधिकांश कम्पनीको लकइन पिरियड खुलेको दिन सेयर मूल्य घट्ने गरेको थियो । तर, चन्द्रगिरिको हकमा भने ठ्याक्कै उल्टो भयो । अर्थात् कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर बन्द भयो ।
मंगलबार बजार खुल्ने बित्तिकै ८ प्रतिशतले घटेको कम्पनीको सेयर मूल्य अन्तिममा १० प्रतिशतले बढेर बन्द भयो । सोमबार प्रतिकित्ता ८६३ रुपैयाँमा बन्द भएको कम्पनीको सेयर मूल्य मंगलबार बजार खुल्ने बित्तिकै घटेर ७९६ रुपैयाँसम्म झरेको थियो । तर, अन्त्यमा बजार बन्दा हुँदा प्रतिकित्ता ८६ रुपैयाँ बढेर ९४९ रुपैयाँ ३० पैसा पुगेको छ । एकैदिनमा कम्पनीको सेयर मूल्यमा १५३ रुपैयाँको उतरचढाव भएको छ ।
मंगलबारदेखि कम्पनीको थप १ करोड ३८ लाख कित्ता सेयर कारोबारका लागि खुला भएको छ । प्रायजसो लकइन खुलेको पहिलो दिन बिक्रीकर्ता हाबी हुने गरेकामा चन्द्रागिरिमा भने खरिदकर्ता हाबी भएका छन् । जसले गर्दा सेयर मूल्य १० प्रतिशत बढेको हो ।
कम्पनीको सेयर मूल्यमा तीव्र उतरचढाव आएपछि केही स्वार्थ समूहले चलखेल गरेको हुनसक्ने लगानीकर्ताको अनुमान छ । ठूला लगानीकर्ताले सुरुमा मूल्य घटाएर सस्तोमा सेयर उठाएर पछि बढाएको हुनसक्नेको उनीहरूको अनुमान छ । यसअघि पनि कम्पनीको आइपीओ कारोबारमा आउने बित्तिकै सेयर मूल्यमा चलखेल गरी प्रतिकित्ता २८०० रुपैयाँसम्म पुर्याइएको थियो ।
कम्पनीको सेयर मूल्य अहिले २ वर्ष यताकै सस्तो छ । अहिले पनि सस्तोमा सेयर उठाएर पछि महँगोमा बेच्न स्वार्थ समूहले चलखेल गरेको हुनसक्ने लगानीकर्ताको आँकलन छ । अब प्रमोटरहरूले पनि सेयर बेच्न पाउने भएकाले आफ्नो सेयर बेच्न केही मूल्य उचालेको हुनसक्ने उनीहरूको भनाइ छ ।
यद्यपि, पछिल्लो समय होटलहरूको व्यापारमा उल्लेख्य सुधार आएको छ । जसले कम्पनीको दोस्रो त्रैमासमा राम्रो रिपोर्ट आउने हल्लाका कारण पनि सेयर मूल्य बढेको हुनसक्ने अर्काथरी लगानीकर्ताको भनाइ छ ।