काठमाडौं । सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । गत बुधबारदेखि ओरालो लागेको नेप्से आज लगातार पाँचौं दिन घटेको हो । अघिल्ला ४ दिनमै ७७ अंकले घटेको नेप्से आज भने १ अंकभन्दा कमले घटेको हो ।
सूचकमा झिनो गिरावट आए पनि कारोबार रकममा भने भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २ अर्ब ६ करोडले घटेर ४ अर्ब २२ करोड रुपैयाँमा सीमित भएको छ ।
मंगलबार नेप्से परिसूचक ०.४० अंकले घटेर २०९८.२९ विन्दुमा आइपुगेको छ । यसदिन ३१० कम्पनीको १ करोड १८ लाख १ हजार ३६० कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ६ समूहको परिसूचक बढेको छ भने ७ को घटेको छ । होटल समूहको परिसूचक सर्वाधिक ४.७४ प्रतिशतले बढेको छ ।
आज पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ५५ करोड ९ लाख रुपैयाँको ८ लाख ४० हजार ४८४ कित्ता सेयर किनबेच भएको छ ।
झिनो अंकले घटेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । चन्द्रागिरि हिल्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने नेपाल ल्युब आयल र एनएमबी माइक्रोफाइनान्सका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।