काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको लिलामी सेयरको प्रारम्भिक कट अफ प्राइस सार्वजनिक भएको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार तामाकोशीको लिलामी सेयरको प्रारम्भिक कट अफ प्राइस प्रतिकित्ता १४६ रुपैयाँ अनुमान गरिएको छ ।
यद्यपि, अन्तिम नतिजा आउन बाँकी रहेकाले सेयर मूल्य केही तल माथि हुन सक्ने कोषले जनाएको छ । कम्पनीले पुस १३ गतेदेखि २९ गतेसम्म सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामीमा ल्याएको थियो । जसमा ३० हजार बढी आवेदकले आवेदन दिएको सह बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ ।
शुक्रबारदेखि कम्पनीको बोलपत्रको शिलबन्दी खोल्न थालिएको थियो । प्रारम्भिक कट अफ प्राइस अनुसार प्रतिकित्ता १४६ रुपैयाँभन्दा माथि मूल्य राखेर आवेदन दिनेले सेयर पाउने सम्भावना देखिएको छ ।