हिमालयन रि-इन्स्योरेन्सको ९ दिनमा कति कित्ता भयो सेयर कारोबार ?

काठमाडौं । दोस्रो बजारमा कारोबारमा आएको ९ दिनमा हिमालयन रि इन्स्योरेन्सको करिब ५२ लाख कित्ता सेयर किनबेच भएको छ ।

गत पुस २३ गतेदेखि दोस्रो बजारमा कारोबार आएको कम्पनीको माघ ७ गतेसम्म (९ कारोबार दिनमा) कुल ५१ लाख ७७ हजार ९६५ कित्ता सेयर किनबेच भएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार पछिल्लो ३ दिनमा मात्रै कम्पनीको ४९ लाख ६५ हजार कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएको छैटौं दिनसम्म जम्मा २ लाख १० हजार कित्ता मात्र किनबेच भएको थियो ।

नेप्सेका अनुसार पहिलो दिन (पुस २३ गते) ३० हजार ८६६ कित्ता, पुस २४ गते १० हजार ६९९ कित्ता, पुस २५ गते १७ हजार ४ कित्ता, पुस २६ गते ३७ हजार ४४५ कित्ता, पुस २९ गते ४६ हजार ६८४ कित्ता सेयर किनबेच भएको थियो । त्यसैगरी, माघ २ गते ७० हजार ३४० कित्ता, माघ ३ गते १० लाख ९३ हजार ४८७ कित्ता, माघ ४ गते एकैदिन ३० लाख ४४ हजार ७०२ कित्ता र आज ८ लाख २७ हजार ७३८ कित्ता सेयर किनबेच भएको छ ।

यद्यपि, हालसम्म कति कित्ता प्राथमिक साधरण सेयर (आइपीओ) बेचे भन्ने तथ्यांक भने छैन । चौथो दिनसम्म आइपीओ मात्रै बिक्री भएको हो भने पाँचौ दिनदेखि दोस्रो बजारबाट खरिद गरिएको सेयर पनि कारोबार भएको हुन सक्छ ।

इतिहासकै दोस्रो ठूलो आइपीओ ल्याएको कम्पनीको कुल १५ लाख ९८ हजार ६५१ जना (सर्वसाधरण, वैदेशिक रोजगारीमा रहेका नेपाली र कर्मचारीसहित)ले सेयर हात पारेका थिए । सर्वसाधरणले न्यूनतम १० देखि अधिकतम ४० कित्ता सेयर पाएका थिए ।

९ कारोबार दिनमै कम्पनीको सेयर मूल्य दोब्बर बढीले बढेको छ । प्रतिकित्ता ३०९.२ रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य ९ दिनमा बढेर ६८२ रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७२.८ रुपैयाँ बढेको हो ।

लगातार सेयर मूल्य बढेसँगै कम्पनी नेप्सेमा सूचीकृत कम्पनीमध्ये बजार पूँजीकरणका आधारमा सातौं ठूलो कम्पनी समेत बनेको छ । आइतबार कम्पनीको कुल बजार पूँजीकरण ६८ अर्ब रुपैयाँ पुगेको छ ।

बेनी-जोमसोम सडक खण्डको भिरकाटेमा सुरुङमार्ग बनाइने Read Previous

बेनी-जोमसोम सडक खण्डको भिरकाटेमा सुरुङमार्ग बनाइने

सम्पत्ति शुद्धीकरण मुद्दामा इच्छाराज तामाङ दोषी ठहर Read Next

सम्पत्ति शुद्धीकरण मुद्दामा इच्छाराज तामाङ दोषी ठहर