काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स सेयर बजारको नवौं ठूलो कम्पनी बनेको छ । पुस २३ गतेदेखि कारोबारमा आएको हिमालयन रि बजार पूँजीकरणका आधारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीमध्ये नवौं ठूलो कम्पनी बनेको हो ।
हिमालयन रि ७ कारोबार दिनमै नवौं ठूलो कम्पनी बन्न सफल भएको हो । नेप्सेका अनुसार बुधबारको सेयर मूल्यका आधारमा हिमालयन रिको कुल बजार पूँजीकरण ६० अर्ब २२ करोड रुपैयाँ रहेको छ । संस्थापक र साधरण गरी कुल १० करोड कित्ता सेयर सूचीकृत छ ।
कारोबारमा आएको दिनदेखि कम्पनीको सेयर मूल्यमा हरेक दिन पोजेटिभ सर्किट अर्थात् १० प्रतिशतले बढ्दै आएको छ । प्रतिकित्ता ३०९.२ रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य ७ दिनमै प्रतिकित्ता २९३ रुपैयाँ बढेर ६०२.२० रुपैयाँ पुगेको छ ।
नेप्सेमा हाल २४९ वटा कम्पनी (म्युचुअल फण्ड र डिबेन्चर बाहेक) सूचीकृत छन् । हिमालयन रि अन्य समूहमा सूचीकृत छ ।
नेप्सेमा सूचीकृतमध्ये नेपाल टेलिकम बजार पूँजीकरणका आधारमा सबैभन्दा ठूलो कम्पनी बनेको छ । यसको बजार पूँजीकरण १ खर्ब ६२ अर्ब रुपैयाँ छ ।
नबिल बैंक १ खर्ब ३६ अर्बसहित दोस्रो ठूलो कम्पनीको रुपमा रहेको छ । त्यसैगरी, पूँजीकरणका आधारमा नागरिक लगानी कोष १ खर्ब १७ अर्ब, नेपाल पुनर्बीमा ८९ अर्ब र एनआइसी एशिया ७६ अर्बसहित क्रमशः शीर्ष ५ ठूला कम्पनीका रुपमा छन् ।