काठमाडौं । सेयर बजारमा दोहोरो अंकको करेक्शन आएको छ । अघिल्ला दुई कारोबार दिनमै ८६ अंकले बढेको नेप्सेमा आज १२ अंकले घटेको हो ।
नाफा बुक गर्ने हाबी हुँदा सूचकमा गिरावट आएको हो । सूचक घटे पनि कारोबार रकममा भने उछाल आएको छ । आज ९ अर्ब ६६ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । यो पछिल्लो २९ महिना यताकै धेरै हो । यसअघि २०७८ भदौ २१ गते ९ अर्ब ८२ करोडको कारोबार भएको थियो ।
बुधबार नेप्से परिसूचक १२.१० अंकले घटेर २१६३.०६ विन्दुमा आइपुगेको छ । इन्ट्रा डेमा २२१५ बिन्दु छोएर फर्केको नेप्से अन्त्यमा २२०० विन्दु तलै बसेको हो । यसदिन ३०० कम्पनीको ३ करोड ३५ लाख २५ हजार ७०२ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ४ को परिसूचक बढेको छ भने ९ को घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ३.५१ प्रतिशतले घटेको छ ।
आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको पौने ६६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, ङादी ग्रुप ३३ करोड र सोनापुर मिनरल्सको २९ करोड रुपैयाँ बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा पनि आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । ग्लोबल आइएमई लघुवित्त र नेपाल वेयर हाउजिङको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
त्यस्तै, हिमालयन रिइन्स्योरेन्स र गरिमा बैंकका डिबेन्चरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् । घट्दो बजारमा आज ३ कम्पनीको मूल्यमा नेगेटिभ सर्किट लागेको छ । इस्टर्न हाइड्रोपावर, भूगोल इनर्जी र मुक्तिनाथ कृषि कम्पनीका सेयरधनीले १० प्रतिशत गुमाएका छन् ।