काठमाडौं । माथिल्लो तामाकोशीको सेयर मूल्यमा लगातार पोजेटिभ सर्किट लागेको छ । मंगलबार १० प्रतिशतले बढेको कम्पनीको सेयर मूल्य आज पनि बजार खुल्ने बित्तिकै पोजेटिभ सर्किट लागेको हो ।
लामो समयदेखि इतिहासकै न्यून विन्दुमा कारोबार भइरहेको तामाकोशी सेयर मूल्य ३ दिनदेखि एकाएक बढ्न थालेको हो । तीन दिनमै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५८ रुपैयाँ अर्थात् २९.४४ प्रतिशतले बढेको छ ।
बिहीबार प्रतिकित्ता १९७ रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य आज २५५ रुपैयाँ पुगेको छ । कम्पनीको वित्तीय अवस्थामा उल्लेख्य सुधार ल्याउने कुनै प्रगति नभए/समाचार नआए पनि कम्पनीको मूल्यमा दैनिक पोजेटिभ सर्किट लागेको छ ।
७३ अर्ब बढी ऋण भएको कम्पनीको सेयर मूल्यमा बिनाकारण लगातार पोजेटिभ सर्किट लागेपछि चलखेल भएको अनुमान गरिएको छ । कम्पनीले गत महिना १ करोड ७० कित्ता अवितरित हकप्रद सेयर लिलामीमा ल्याएको थियो । लिलामी भर्ने समयभरी नबढेको कम्पनीको सेयर मूल्य त्यसपछिका दिनमा भने लगातार बढेको छ । ठूलो संख्यामा लिलामी भरेका ठूला लगानीकर्ताले नाफा कमाउन चलखेल गरी सेयर मूल्य बढाइएको अनुमान गरिएको छ ।
कम्पनीको लिलामी सेयरमा ७ अर्ब रुपैयाँ बढीको आवेदन परेको जनाइएको छ । यस आधारमा बजार मूल्यभन्दा माथिल्लो मूल्यमा समेत लिलामी आवेदन परेको देखिएको छ । लिलामीमार्फत लाखौं कित्ता सेयर उठाएका लगानीकर्ताले खास कारण नभए पनि नाफा कमाउन सेयर मूल्य बढाउन थालेको केही लगानीकर्ता बताउँछन् ।
राष्ट्रिय गौरवको आयोजना रहेको तामाकोशीले हाल देशकै सबैभ्न्दा ठूलो ४५६ मेगावाटको आयोजना सम्पन्न गरी २ वर्षदेखि व्यावासायिक उत्पादन गर्दै आएको छ ।
कम्पनीले हालै १०० प्रतिशत हकप्रद सेयर बिक्री गरी चुक्ता पूँजी बढाएर २१ अर्ब पुर्याएको छ । हकप्रदबाट प्राप्त १० अर्ब ५९ करोड रुपैयाँ रकम ऋण तिर्न र २२ मेगावाटको रोलवालिङ आयोजना निर्माणमा खर्च हुने जनाएको छ ।