काठमाडौं । सरकारले निर्माण व्यवसायीले बक्यौता बापतको सवा ६ अर्ब रुपैयाँ तत्काल भुक्तानी गर्ने भएको छ ।
आइतबार सिंहदरबारमा भएको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीको बक्यौता तत्काल भुक्तानी गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीसहित अर्थमन्त्री डा. प्रकाशशरण महत, अर्थसचिव डा. कृष्णहरि पुष्कर, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव डा. बैकुण्ठ अर्याल लगायतको छलफलले आजैदेखि भुक्तानीको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
यससँगै निर्माण व्यवसायीले गत आर्थिक वर्षको १ अर्ब ७१ करोड रुपैयाँसहित कुल ६ अर्ब ३० करोड रुपैयाँ भुक्तानी पाउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बक्यौता बाँकी रहँदा काम गर्नै समस्या भएको भन्दै निर्माण व्यवसायीले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।
विकास निर्माणलाई तीव्रता दिन बक्यौता भुक्तानी आवश्यक रहेको र भुक्तानीपछि पूर्वाधार आयोजनाको कामले गति लिने प्रधानमन्त्रीको भनाइ छ ।