पर्वत । दक्षिण पर्वतको पैंयुँ र विहादी गाउँपालिकामा निर्माण गरिएको सेतीखोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएको छ । पैयुँखोला हाइड्रोपावर कम्पनीले निर्माण गरेको ३.५ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाको काम हालै सम्पन्न भएको हो ।
आयोजनाले सोमबारदेखि परीक्षणसमेत थालिसकेको छ । विसं २०७५ देखि निर्माण सुरु भएको आयोजनको काम ५ वर्षमा सकिएको हो । आयोजनाको मुहान पैंयुँ गाउँपालिका वडा नं २ वेउलीवासको छचन्नेमा रहेको छ भने विद्युत् गृह विहादी गाउँपालिका–६ शालिग्रामको घांग्रेमा रहेको छ । छचन्नेदेखि ३ हजार ६००मिटर लामो पाइपलाइनमार्फत घांग्रेमा रहेको पावर हाउसमा पानी खसालिएको छ ।
आयोजनाको इलेक्ट्रोमेकानिकल काम चाइनाको एसियन प्यासिफक प्रोजेक्ट कम्पनीले गरेको थियो । पाइपलाइनको काम के एन्ड के विल्डर्स विराटनगरले गरेको हो । आयोजनको सिभिलतर्फको निर्माण कार्य द ब्रदर्श विल्डर्स काठमाडौंले गरेको पर्वत पैंयुँखोला हाइड्रोपावर कम्पनीका सचिव डा शिवशंकर बस्यालले जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरणबाट विसं २०७४ मा उत्पादन अनुमतिपत्र लिएको आयोजनाले दुई वर्षभित्र उत्पादन गर्ने अवधि भए पनि कोरोना संक्रमण र बाढीपहिराका कारण समायावधि दुई वर्ष थप गरिएको थियो । ‘झन्डै पाँच वर्षको अवधिमा निर्माण कार्य सम्पन्न गर्यौं, बस्यालले भने । आयोजनाबाट उत्पादन भएको विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोड्नका लागि प्राधिकरणसँग पीपीए सम्झौतासमेत भइसकेको उनले बताए । अबको दुई साताभित्र राष्ट्रिय प्रशारण लाइनमा विद्युत् जडान गरिने तयारी भइरहेको बस्यालले बताए ।
आयोजना निर्माणका लागि सिद्धार्थ बैंक लिमिटेड र गरिमा विकास बैंकको संयुक्त लगानी रहेको छ । हालसम्म आयोजना निर्माणका लागि १ अर्ब १० करोड खर्च भइसकेको आयोजनाका सचिव बस्यालले जानकारी दिए । सोमबारदेखि परीक्षण उत्पादन थालेको आयोजनाले घाङग्रे–लुंखु प्रशारण लाइनको ३३÷११ केभीए प्रसारण लाइनमा परीक्षण थालेको हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष राजकुमार बस्यालले जानकारी दिए ।
आयोजनाले परीक्षण अवधिभर महाशिला गाउँपालिकाको वडा नं १, ३ र ५ तथा पैँयु गाउँपालिकाका वडा नं १ र ३ एवं विहादी गाउँपालिकाको वडा नं ६ मा रहेको प्रसारण लाइन, खम्बा आदि नछुन, टाढा हुन र सावधानी रहन अनुरोध गरेको छ । रासस