काठमाडौं । अर्थतन्त्र बाह्य क्षेत्र मजबुत अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिना (मंसिरसम्म)को अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।
गत वर्षदेखि लगातार सुधारोन्मुख भइरहेको बाह्य क्षेत्र अहिले बलियो अवस्थामा पुगेको हो । राष्ट्र बैंकका अनुसार अर्थतन्त्रका मुख्य सूचकहरू विदेशी मुद्रा संचिति, व्यापार घाटा, शोधान्तरस्थिति, चालुखाता, रेमिट्यान्स आप्रवाह लगायत सूचक १ वर्ष यताकै मजबुत अवस्थामा पुगेका छन् ।
विगत १ वर्षदेखि अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख भइरहँदा पनि आन्तरिक भने झन्झन् शिथिल हुँदै गएको थियो । तर, पछिल्ला केही महिना यता आन्तरिक अर्थतन्त्रमा पनि सुधार आइरहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
चालु वर्षको पहिलो त्रैमासदेखि आन्तरिक सूचकहरूमा पनि केही सुधारको संकेत देखाएको छ । मूल्यवृद्धि लामो सयमपछि नियन्त्रणमा आएको छ । यस्तै, सरकारको राजस्व संकलन, बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी, पूँजीगत खर्च लगातमा सुधार आएको देखिएको छ ।
यद्यपि, सरकारको आम्दानी र खर्च बीचको खाडल ठूलो रहेको छ । आम्दानीले खर्च धान्न सक्ने अवस्था छैन । दैनिक खर्च धान्न पनि ऋण लिनुपर्ने अवस्था छ ।
राष्ट्र बैंक र सरकारले गत वर्ष आयातमा कडाइ गर्दा यस वर्ष अर्थतन्त्रको बाह्य सूचकहरू अहिलेसम्मकै मजबुत अवस्थामा छन् । बाह्य क्षेत्र बलियो बनाउन खोज्दा आन्तरिक अर्थन्त्रमा आएको संकुचनका कारण उद्योगधन्दा पूर्ण क्षमतामा संचालन हुन सकेका छैनन् भने औद्योगिक क्षेत्रमा नयाँ लगानी नगन्य मात्रमा छ । दुई साता अघि नेपाल उद्योग परिसंघले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले भने अर्थतन्त्रमा सुधार नआएको देखाएको थियो ।
पछिल्लो समय अर्थतन्त्र चलायमान बनाउन भन्दै सरकार र नेपाल राष्ट्र बैंकले निकै मेहनत गरिरहेका छन् । सरकारले घरजग्गा सहित अन्य क्षत्रका नीतिगत लचकता अपनाइ रहेको छ । त्यस्तै, राष्ट्र बैंकले बैंकदर, नीतिगत दर घटाउँदा ब्याजदर घटाउने नीति लिँदै घरजग्गा, सेयर, हायरपर्चेज लगायत कर्जा लगानी खुकुलो बनाउँदै लगेको छ ।
अहिले बैंकिङ प्रणालीमा अधिक तरलता रहेको र पछिल्लो समय गरिएका नीतिगत लचकताले आगामी महिनाहरु क्रमशः सुधार देखिँदै जाने राष्ट्र बैंकले जनाएको छ ।
यस्ता छन् अर्थतन्त्रका मुख्य सूचकहरू
१. विदेशी मुद्रा संचितिको रेकर्ड : विदेशी मुद्रा संचिति बढ्दै गएको छ । हरेक महिना थपिँदो संचिति र लगानी वृद्धि नहुँदा मुद्रा संचितिले नयाँ रेकर्ड बनाउँदै लगेको छ ।
गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति कात्तिक मसान्तसम्म १७ खर्ब ६७ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । यो हालसम्मकै धेरै हो ।
यस्तै, अमेरिकी डलर संचिति ३ वर्ष यताकै धेरै १३ अर्ब ३१ करोड डलर पुगेको छ । विदेशी पर्यटकको आवगमन बढ्दा, रेमिट्यान्स वृद्धि र आयात घट्दा विदेशी मुद्रा संचितिमा सुधार आएको हो ।
आव २०८०र८१ को ५ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.१ महिनाको वस्तु आयात र ११.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंककले जनाएको छ ।
२. रेमिट्यान्स आप्रवाह २७ प्रतिशतले बढ्यो : चालु आवको ५ महिनामा रेमिट्यान्स आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भएर ६ खर्ब १३ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले बढेको थियो ।
३.चालु खाता र शोधनान्तर स्थिति बचतमा : यस अवधिमा चालु खाता र शोधनान्तर स्थितिमा सुधार आएको छ । राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्म समीक्षा अवधिमा चालु खाता १ खर्ब ४० अर्ब रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४१ अर्ब २१ करोडले घाटामा रहेको थियो ।
राष्ट्र बैंकको तथ्यांक अनुसार शोधनान्तर स्थिति २ खर्ब १० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोडले बचतमा रहेको थियो
४ व्यापार घाटामा सुधार : चालु आवमा वैदेशिक व्यापार घाटमा सुधार आएको छ । अघिल्लो वर्षको तुलनामा चालु आवको सोही अवधिमा व्यापार घाटा ३.१ प्रतिशतले घटेर ५ खर्ब ७९ अर्ब रुपैयाँमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा आयात निर्यात दुवै घटेको छ । कुल वस्तु आयात ३.४ प्रतिशतले कमी आई रु.६४२ अर्ब २१ करोड सीमित भएको छ । त्यस्तै, वस्तु निर्यात ६.१ प्रतिशतले कमी आई रु.६३ अर्ब २१ करोड कायम भएको छ ।
५. सरकारको खाता पौने २ खर्ब बचतमा : चालु आवको मंसिर मसान्तमा सरकारका खातामा पौने २ खर्ब रुपैयाँ बचत रहेको छ । यस अवधिमा सरकारका विभिन्न खातामा रु १८७ अर्ब ८६ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात रु.७१ अर्ब ९८ करोड रहेको थियो।
६. बढ्यो निक्षेप संकलन र कर्जा लगानी : समीक्षा अवधिमा बैंकिङ व्यवसायमा पनि झिनो सुधार आएको छ । यस अवधिमा निक्षेप रु.२६३ अर्ब ७२ करोड (४.६ प्रतिशत) र कर्जा लगानी रु. ११० अर्ब ६ करोड (२.३ प्रतिशत) ले बढेको छ ।
७. ब्याजदर सस्तिँदै : चालु वर्षमा बैंकको ब्याजदर सस्तिँदै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । २०७९ मंसिरमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १०.६७ प्रतिशत रहेकोमा २०८० मंसिरमा ३.५३ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०७९ मंसिरमा ८.०० प्रतिशत रहेकोमा २०८० मंसिरमा २.०६ प्रतिशत रहेको छ ।
यस्तै, २०८० मंसिरमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.६४ प्रतिशत, विकास बैंकहरुको ११.६४ प्रतिशत र वित्त कम्पनीहरुको १३.१४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको मंसिरमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.६९ प्रतिशत रहेको थियो।
२०८० मंसिरमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.६२ प्रतिशत, विकास बैंकहरुको ८.७९ प्रतिशत र वित्त कम्पनीहरुको ९.८५ प्रतिशत रहेको छ । २०७९ मंसिरमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.४६ प्रतिशत कायम भएको थियो। त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर २०८० मंसिरमा वाणिज्य बैंकहरुको ११.८५ प्रतिशत, विकास बैंकहरुको १३.३९ प्रतिशत र वित्त कम्पनीहरुको १४.३० प्रतिशत रहेको छ । २०७९ मंसिरमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.७४ प्रतिशत कायम भएको थियो।
८. महँगी नियन्त्रणमा : चालु वर्षमा महँगी क्रमशः घट्दै गएको देखिएको छ । मंसिरमा महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८३ प्रतिशत रहेको छ । यो सरकारको सीमाभन्दा तल हो । सरकारले चालु आवमा मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेका छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.३८ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.१० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८४ प्रतिशत रहेको छ । समीक्षा अवधिमा घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क क्रमशः १३.६६ प्रतिशत, ८.३७ प्रतिशत र ०.१३ प्रतिशतले घटेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३७.२२ प्रतिशत, फलफूलको १३.३७ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १३.२४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ११.३० प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.५९ प्रतिशत र दाल तथा गेडागुडीको १०.५६ प्रतिशतले बढेको छ ।
२०८० मंसिर महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४२ प्रतिशत, तराईको ४.२६ प्रतिशत, पहाडको ५.४२ प्रतिशत र हिमालको७.४६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ६.५६ प्रतिशत, ८.०० प्रतिशत, ७.३२ प्रतिशत र ६.४८ प्रतिशत रहेको थियो।
९. सरकारको आम्दानी र खर्चमा भने ठूलो खाडल : यस अवधिमा सरकारको आम्दानी र खर्च बीच ठूलो खाडल देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार मंसिरसम्म सरकारको कुल खर्च ४ खर्ब ५३ अर्ब रुपैयाँ भएको छ भने राजस्व संकलन ३ खर्ब ६३ अर्ब रुपैयाँ मात्र छ । यस अवधिमा सरकार ९० अर्ब रुपैयाँमा घाटामा छ ।