१६औँ योजनामा स्वास्थ्य र शिक्षा : सबै नागरिकको बीमा, हरेक विद्यालयमा इन्टरनेट

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी ५ वर्षभित्रमा ५ वर्ष र सो भन्दा माथिको साक्षरता दर शतप्रतिशत पुर्याउने लक्ष्य अघि सारेको छ ।

१६औँ योजनामा शिक्षा र स्वास्थ्य विषयका बारेमा सोमबार र मंगलबार भएको छलफलमा आयोगले छलफलका लागि प्रस्तुत गरेको मस्यौदातामा यस्तो दर शतप्रतिशत पुर्याउने उल्लेख छ ।

आयोगका अनुसार ५ वर्ष र सोभन्दा माथिको साक्षरता दर अहिले ७६.२ प्रतिशतमात्रै छ । १६औँ योजना अवधि अर्थात आर्थिक वर्ष २०८५–८६ सम्ममा यसलाई शतप्रतिशत पुर्याउने आयोगले लक्ष्य लिएको हो । यसैगरी १६औँ योजनाले शिक्षण सिकाइमा सबै विद्यालयमा इन्टरनेटको पहुँच पुर्याउने लक्ष्य समेत अघि सारेको छ ।

अहिले सहरी क्षेत्रका विद्यालयहरूमा शिक्षण सिकाइमा इन्टरनेटको पहुँच पुगे पनि अधिकांश विद्यालयहरूमा शिक्षण सिकाइका लागि इन्टरनेटको पहुँच पुग्न सकेको छैन । यस्तो दर हाल ३५.९ प्रतिशत रहेकोमा ५ वर्षमा शतप्रतिशत पुर्याउने आयोगले लक्ष्य निर्धारण गरेको हो ।

यद्यपि, मस्यौदामा समेटिएको यो विषय फाइनल हुन भने बाँकी रहेको आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलले बताए । उनका अनुसार छलफल अन्तिम चरणमा पुगेको छ । आएका सुझावहरू समेत समेटेर आयोगले योजना फाइनल गर्नेछ ।

शिक्षा क्षेत्रको कुल बजेट १७ प्रतिशत

शिक्षा क्षेत्रमा हाल सरकारले कुल बजेटको १०.९५ प्रतिशत बजेट विनियोजन गरेको छ । आगामी ५ वर्षमा आयोगले शिक्षा क्षेत्रको बजेटलाई बढाएर १७ प्रतिशत बनाउने लक्ष्य लिएको छ । १६औँ योजनाको मस्यौदामा उल्लेख भए अनुसार हाल प्रारम्भिक बालविकास र शिक्षाको अनुभव सहित कक्षा १ मा भर्ना हुने बालबालिकाको संख्या ७६.९ प्रतिशत रहेको छ । यसलाई बढाएर शतप्रतिशत पुर्याउने आयोगको लक्ष्य छ ।
यसैगरी आधारभूत तह कक्षा १–८ मा पुरा गर्ने दर ७७.१ प्रतिशत रहेकोमा यसलाई ९१ प्रतिशत पुर्याउने, माध्यमिक तहको कक्षा १२ सम्म पुग्ने दर ३५.६ प्रतिशत रहेकोमा ५० प्रतिशत पुर्याउने र उच्च शिक्षा प्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थीको हिस्सा हाल २०.७२ प्रतिशत रहेकोमा यसलाई बढाएर २०८५–८६ सम्म ३० प्रतिशत पुर्याउने १६ औँ योजनाको मस्यौदामा उल्लेख छ ।

स्वास्थ्य क्षेत्रका के-के विषय समेटिए ?

आयोगका स्वास्थ्य हेर्ने सदस्य डा. आरपी विच्छाको अध्यक्षतामा सोमबार र मंगलबार छलफल भएको थियो । छलफलमा प्रस्तुत मस्यौदा अनुसार ५ वर्षे आवधिक योजना भित्र गम्भीर प्रकृतिका रोगको विश्वसनीय विशिष्ट स्वास्थ्य उपचार स्वदेशमा नै हुन सक्ने गरी स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्ने लक्ष्य राखिएको छ ।

सबै नागरिकमा स्वास्थ्य बीमा पुर्याउने लक्ष्यसहित आयोगले स्वास्थ्य सेवालाई सर्वव्यापाी, पहुँचयुक्त र समतामुलक बनाउने लक्ष्य राखेको आयोगद सदस्य डा. विच्छाले जानकारी दिए । उनका अनुसार १६ औं योजनामा विद्यमान स्वास्थ्य बीमा कार्यक्रमको समग्र पुनरावलोकन गरी समयानुकूल संशोधन एवम् परिमार्जन गरी सबै नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गराउने लक्ष्य सरकारले लिने भएको छ । विशेषज्ञ र विशिष्टिकृत स्वास्थ्य सेवालाई समेत स्वास्थ्य बीमामा समेट्ने लक्ष्य योजनामा समेटिएको छ ।

जिल्ला स्तरका अस्पतालको स्तरोन्नति गरी न्यूनतम विशेषज्ञ सेवा उपलब्ध गराउने र सबै प्रदेशमा प्रेषण अस्पताल निर्माणको लक्ष्य समेत १६औं योजनाले तय गर्ने भएको छ ।

मातृ मृत्युदर प्रतिलाख जीवित जन्ममा अबको ५ वर्ष भित्र ८५ पुर्याउने १६ औं योजनाको लक्ष्य छ । आधार वर्ष २०७९/८० मा मातृ मृत्युदर १५१ रहेको छ । सडक दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको संख्या प्रतिएक लाखलाई ६.२ मा झार्ने लक्ष्य रहेको छ । अहिले यो आंकडा ९.५ रहेको छ ।

आगामी ५ वर्षमा पूर्ण खोप लगाउने बालबालिकाको संख्या ९५ प्रतिशत पुर्याउने लक्ष्य रहेको छ । अहिले ८० प्रतिशत रहेको छ । अहिले स्वास्थ्य बीमा कार्यक्रममा नवीकरण दर ३९ प्रतिशत रहेकोमा ५ वर्ष भित्र यो ९० प्रतिशत लैजाने लक्ष्य रहेको छ । ३० मिनेटको दूरीमा स्वास्थ्य संस्था भएका घरधुरी ७७ रहेकोमा यसलाई बढाएर ८६ पुर्याउने १६ औं योजनाको लक्ष्य छ । पाँच वर्ष मुनिका बच्चा मध्ये जन्म दर्ता गरिएका बालबालिका शतप्रतिशत पुर्याउने सरकारको लक्ष्य छ । अहिले यो ६३ प्रतिशत मात्र रहेको छ ।

आयोगले आगामी माघ मसान्तभित्र १६औँ योजनालाई अन्तिम रुप दिने गरी तयारी तीव्र बनाएको छ । आयोगका प्रवक्ता यमलाल भुसालका अनुसार सातै प्रदेशमा पुगेर प्रदेश सरकार र स्थानीय तहको समेत सुझाव समेटिएको छ । यसबाहेक निजी क्षेत्रसहित सबै क्षेत्रका विषय विज्ञहरू समेतको सुझाव लिएर योजनाको काम भइरहेको छ ।

 

बचतकर्ताको सवा अर्ब हिनामिना गर्ने कान्तिभैरव सहकारीका संचालक पक्राउ Read Previous

बचतकर्ताको सवा अर्ब हिनामिना गर्ने कान्तिभैरव सहकारीका संचालक पक्राउ

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा Read Next

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा