काठमाडौं । सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । आइतबार २६ अंकले घटेको नेप्से आज ३६ अंकले बढेको हो ।
सूचकमा सुधार आए पनि आज कारोबार रकम भने घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५७ करोडले घटेर ४ अर्ब ६७ करोडमा सीमित भएको छ ।
सोमबार नेप्से परिसूचक ३६.५७ अंकले बढेर २०५९.४९ विन्दुमा पुगेको छ । यस दिन ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये म्युचुअल बाहेक अरु सबै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३.७२ प्रतिशतले बढेको छ ।
आज पनि सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै २२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, माउन्टेन इनर्जी १९ करोड र हाथवे इन्भेष्टमेन्टको १६ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।
उच्च अंकले बढेको बजारमा आज ८ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सिंगटी हाइड्रोपावर, मोदी इनर्जी, त्रिशूली जलविद्युत् र मृक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
त्यस्तै, नेपाल वेयरहाउजिङ, हिमालयन रि–इन्स्योरेन्स, तह्रथुम पावर र समाज लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।