धान उत्पादनमा रेकर्ड, फल्यो अहिलेसम्मकै धेरै धान, कुन प्रदेशमा कति ?

काठमाडौं । नेपालको प्रमुख खाद्य बाली धान उत्पादनमा यस वर्ष नयाँ रेकर्ड बनेको छ । चालु आर्थिक वर्ष २०८०/८१ मा धान खेती गरिएको जमिनको क्षेत्रफल घटे पनि हालसम्मकै धेरै धान उत्पादनको रेकर्ड बनेको हो ।

कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार यस वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ । यो हालसम्म कुनै पनि वर्षमा उत्पादन भएको सबैभन्दा धेरै हो । यसअघि आर्थिक वर्ष २०७७/७८ मा सबभन्दा धेरै ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको थियो।

गत वर्षको तुलनामा चालु वर्षमा धान उत्पादन ४.३३ प्रतिशत अर्थात् २ लाख ३८ हजार मेट्रिकटनले बढेको छ । गत आर्थिक वर्षमा ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान फलेको थियो ।

यस वर्ष कीर्तिमानी धान उत्पादन भए पनि खेती गरिएको क्षेत्रफल भने घटेको छ । यस वर्ष गत वर्षभन्दा ०.६१ प्रतिशत अर्थात् ८ हजार ८०० हेक्टर कम क्षेत्रफलमा धानखेती गरिएको थियो । चालु आवमा १४ लाख ३८ हजार ९८९ हेक्टरमा धानको रोपाइँ भएको थियो ।

किसानले यस वर्ष उन्नत जातको धानको बीउ रोपेकाले क्षेत्रफल घट्दा पनि उत्पादन बढेको मन्त्रालयले जनाएको छ । साथै, रासायनिक मलको सहज उपलब्धता, रोगकिरा र बाीपहिलोबाट कम क्षति, कृषि उपकरण र प्रविधिको बढ्दो प्रयोग लगायत कारणले पनि धानको उत्पादन बढेको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

चालु वर्षमा सात प्रदेशमध्ये मधेशबाहेक अरु सबै प्रदेशमा धान उत्पादन बढेको छ । यद्यपि, धान रोप्ने समयमा पर्याप्त वर्षा नहुँदा तराईका जिल्लाहरूमा भने धान उत्पादन घटेको छ ।

चालु वर्षमा धानको उत्पादकत्व समेत बढेको छ । गत वर्षको तुलनामा उत्पादकत्व ४.९७ प्रतिशतले बढेर प्रतिहेक्टर ३.९८ मेट्रिक टन पुगेको छ ।

धानको उत्पादनमा वृद्धि हुँदा समग्र अर्थतन्त्रको आकार वृद्धिमा ठूलो सहयोग पुग्छ । आर्थिक वर्ष २०७७/७८ को तथ्यांकअनुसार नेपालको कुल कृषि उत्पादनमा धानको योगदान १६ प्रतिशत थियो। नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान एकचौथाई रहेको छ ।

कोशीमा फल्यो सबैभन्दा धेरै धान

प्रदेशगत हिसाबमा यस वर्ष कोशीमा सबैभन्दा धेरै धान फलेको छ भने सबैभन्दा कम कर्णालीमा उत्पादन भएको छ । मन्त्रालयका अनुसार यो वर्ष कोशीमा १४ लाख ३५ हजार ५७८ मेट्रिक टन धान उत्पादन भएको छ । कोशीमा ३ लाख २४ हजार ४०१ हेक्टरमा धानको रोपाइँ भएको थियो । कोशीमा औसतभन्दा धेरै अर्थात् प्रतिहेक्टर ४.४५ मेट्रिक टन धान फलेको छ ।

यस वर्ष अन्नको भण्डार मानिने मधेशमा भने उत्पादन र उत्पादकत्व दुवै घटेको छ । मधेशमा यस वर्ष १३ लाख ३७ हजार ६७२ मेट्रिक टन धान उत्पादन भएको छ । अघिल्लो वर्षको तुलनामा मधेशमा यस वर्ष ५१ हजार मेट्रिकटन कम धान उत्पादन भएको छ ।

यस वर्ष ढिला वर्षा हुँदा मधेशको ३ लाख ८३ हजार १८३ हेक्टरमा मात्रै रोपाइँ भएको थिया । मधेशमा प्रतिहेक्टर ३.४९ मेट्रिक टन धान फलेको छ । यो औसतभन्दा कम हो । सिचाइँको सुविधा नपुगेको र आकाशे पनि पनि पर्याप्त नपर्दा उत्पादन घटेको हो ।

यस वर्ष लुम्बिनी प्रदेशमा तेस्रो धेरै धान उत्पादन भएको छ । अघिल्लो वर्षको तुलनामा १३.६८ प्रतिशतले वृद्धि भई लुम्बिनीमा १३ लाख १० हजार ८२९ मेट्रिक टन धान फलेको छ । लुम्बिनीमा यस वर्ष ३ लाख २ हजार ३८६ हेक्टरमा रोपाइँ भएको थियो । जसबाट

त्यस्तै, यस वर्ष बागमतीमा ५ लाख ४ हजार ३४४, गण्डकीमा ३ लाख ९१ हजार ६२४, सुदूरपश्चिमममा ५ लाख ९९ हजार १२५ र कर्णालीमा १ लाख ४५ हजार ६३ मेट्रिकटन धान उत्पादन भएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन उम्मेदवारी मनोनयन आज Read Previous

राष्ट्रियसभा सदस्य निर्वाचन उम्मेदवारी मनोनयन आज

आम्दानीको प्रमुख स्रोत बन्दै सुन्तला, एउटै गाउँबाट डेढ करोडको बिक्री Read Next

आम्दानीको प्रमुख स्रोत बन्दै सुन्तला, एउटै गाउँबाट डेढ करोडको बिक्री