काठमाडौं । काठमाडौं महानगरपालिले पूर्वअरनिको यातायात प्रालिले हालेको मुद्दा हारेको हो । बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्धय श्यामकुमार भट्टराई र ऋषिराम दवाडीको संयुक्त इजलासले पूर्व अरनिकोले काठमाडौंको जडीबुटीमा बनाएको बसपार्क नभत्काउन निषेधाज्ञा आदेश दिएको हो ।
काठमाडौं महानगरपालिकाले गत असारमा महानगर क्षेत्रभित्र एक भन्दा बढी बसपार्क संचालन गर्न नपाउने व्यवस्था गरेको थियो । सोही समय अरनिकोले जडीबुटीका जग्गा भाडामा लिएर बसपार्क बनाएपछि महानगरले भत्काउने चेतावनी दिएको थियो । बसपार्क संचालनमा नआउँदै महानगरले भत्काउने भएपछि पूर्व अरिनिकोको तर्फबाट श्यामबहादुर लामाले अदालतमा मुद्दा दायर गरेका थिए ।
उक्त रिटको सुनुवाइ गर्दै असोज १२ गते न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले उक्त बसपार्क नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो । त्यस्तै, असोज २१ गते ध्रुवराज नन्द र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पनि बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकाका नाममा अन्तरिम आदेश दिएको थियो ।
कम्पनीले जडीबुटीमा विभिन्न व्यक्तिको नाममा रहेको १४ रोपनी जग्गा भाडामा लिएर बसपार्क निर्माण गरेको हो । झन्डै १० करोड खर्च गरेर उक्त बसपार्क निर्माण सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।
उक्त बसपार्कबाट अहिले काठमाडौं पूर्वका काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा लगायतका जिल्लमा गुड्ने सवारीसाधन संचालन भइरहेका छन् ।
समितिले बसपार्क संचालनमा ल्याए पनि काठमाडौं महानगर र प्रदेश सरकारले संचालनको अनुमति दिएका छैनन् । अदालतले अहिले बसपार्क नभत्काउन आदेश दिए पनि संचालन अनुमति बारे फैसलाको पूर्णपाठ आएपछि थाहा हुनेछ ।