काठमाडौं । वेलायतले विदेशी विद्यार्थीलाई दिइने डिपेन्डेन्ट भिसामा कडाइ गरेको छ । वेलायत सरकारले आजदेखि भिसा सम्बन्धी नयाँ कानुन लागू गर्दै विदेशी विद्यार्थीलाई दिइने डिपेन्डेन्ट भिसामा कडाइ गरेको हो ।
नयाँ कानुन अनुसार अब वेलायतमा अध्ययनरत विदेशी विद्यार्थीले परिवार लैजान नपाउने भएका छन् । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सामाजिक संजाल एक्समार्फत बेलायतमा अध्ययन गरिरहेका अधिकांश विद्यार्थीले अबदेखि परिवारलाई ल्याउन नपाउने जानकारी गराएका हुन् ।
यद्यपि, पोस्ट ग्राजुएट रिसर्च प्रोग्राम वा सरकारले स्पोन्सर गरेको कार्यक्रममा अध्ययन गर्ने विद्यार्थीमा भने यो नियम लागू नहुने जनाइएको छ ।
वेलायतमा बढ्दो आप्रवासीको संख्या घटाउने उद्देश्यले सरकारले विदेशी विद्यार्थीको डिपेन्डेन्ट भिसामा कडाइ गरेको हो । वेलायत सरकारले गत मे महिनामा नै विदेशी विद्यार्थीलाई दिइने भिसामा कडाइ गरिने घोषणा गरेको थियो ।
बेलायतमा अक्सफोर्ड, युनिभर्सिटी अफ लण्डन लगायत विश्वका चर्चित विश्वविद्यालय रहेका छन् । जसमा अध्ययन गर्ने वर्षेनी हजारौं विद्यार्थी आउने गरेका छन् ।