काठमाडौं । रानीजमरा कुलरिया सिँचाइ आयोजनाबाट बिजुली उत्पादन सुरु भएको छ । आव २०६६/६७ देखि निर्माण थालिएको यस बहुउद्देश्यीय आयोजनाबाट मंसिर अन्तिमदेखि बिजुलीको परीक्षण उत्पादन सुरु गरिएको हो ।
आयोजनाका सिनियर डिभिजनल इञ्जिनीयर टोपबहादुर खत्रीले गत मङ्सिर अन्तिमदेखि ४.७१ मेगावाट विद्युत् उत्पादन सुरु गरेको जानकारी दिए। नेपाल विद्युत् प्राधिकरणका प्राविधिकको उपस्थितिमा आवश्यक परीक्षण भइसकेको छ । व्यावसायिक उत्पादन छिट्टै सुरु गर्ने तयारी रहेको उनले बताए ।
विसं २००९ मा नहर विभागको स्थापना भएपछिको अवस्थालाई हेर्ने हो भने सिँचाइ आयोजनाले बिजुली पनि उत्पादन गरिएकाे याे पहिलोपटक हो ।बिजुली उत्पादन गर्ने लक्ष्यका साथ हाल भेरी बबई डाइभर्सन आयोजना र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणका क्रममा छन् । ती आयोजनाभन्दा पहिले नै रानीजमरा कुलरिया आयोजनाले बिजुली उत्पादन गरेको छ ।
सिँचाइ आयोजना भए पनि परियोजनामा बिजुलीसमेत उत्पादन भएपछि स्थानीय र सम्बद्ध आयोजनाका अधिकारीलाई पनि खुसी तुल्याएको छ । तराई क्षेत्रमा पनि आठ मिटर बराबरको हेड (उचाइ) प्राप्त भएपछि बिजुली उत्पादनको लक्ष्य राखिएको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक चूर्णबहादुर ओलीले बताए ।
सिँचाइ नहरमा पानी उपलब्ध हुँदा बिजुली पनि उत्पादन हुन्छ । साे बत्ती बाल्न सुरु गरिएको छ । राष्ट्रिय प्रसारण प्रणालीमा जोडनका लागि आफूले आवश्यक निर्देशन दिइसकेको प्राधिकरणका कार्यकारी नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले बताए ।
संचालनको मोडालिटी टुंगिन बाँकी
आयोजनाबाट विद्युत् उत्पादन थालिए पनि उत्पादित बिजुली र आयोजना सञ्चालनको आवश्यक ढाँचा भने तय हुन सकेको छैन । सिँचाइसँगै बिजुली पनि उतपादन सुरु भएकाले के कसरी सञ्चालन गर्ने, त्यसबाट प्राप्त हुने आम्दानीको बाँडफाट कसरी गर्ने भन्ने बारेमा आवश्यक निर्णय हुन बााकी छ ।
सञ्चालन मोडालिटी नभएकाले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको आवश्यक तयारी गरिरहेको छ । प्राधिकरणले विद्युत् खरिद सम्झौताका अलावा त्यसबाट प्राप्त हुने आम्दानीको विन्यासका बाारेमा छिट्टै निर्णय हुने विश्वास व्यक्त गरेको छ ।
जलस्रोत तथा सिँचाइ विभागले आफ्नो आयोजना भएकाले आफूहरुले नै सञ्चालन गर्ने बताउँदै आएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री बस्नेतले यसबारेमा छिट्टै निर्णय हुने स्थानीयवासीलाई समेत आश्वस्त बनाएका छन् । मन्त्री बस्नेतले आयोजनास्थलमा नै बिजुली उत्पादनको अवस्थाका बारेमासमेत यही पुस १० गते जानकारी लिएका थिए ।
३८ हजार हेक्टर जमीन हरियाली बनाउँदै
यो आयोजना सम्पन्न भएको ३८ हजार ३०० हेक्टर क्षेत्रफलमा आधुनिक सिँचाइ सुविधा पुग्नेछ । आर्थिक वर्ष २०६६/६७ मा परम्परागत सिँचाइलाई आधुनिकीकरण गर्ने उद्देश्यका साथ सुरु गरिएको यो आयोजनाले हाल कैलालीको टीकापुर नगरपालिका, लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाको करिब ११ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराइँदै आएको छ ।
कर्णाली चिसापानी पुल नजिकै सिँचाइ आयोजनाको बाँध निर्माण गरिएको छ । नेपालमा खासगरी विसं १९७९ देखि सिँचाइ प्रणालीको काम औपचारिक रुपमा सुरु भएको मानिन्छ । चन्द्र नहरको निर्माण भएपश्चात्, सरकारीस्तरमा सिँचाइको विकास सुरु भएको हो ।
याे सिँचाइ प्रणाली स्थानीय किसानले नै निर्माण गरेर व्यवस्थापनसमेत हुँदै आएको सबैभन्दा ठूलो मध्येको एक हो । सो प्रणालीको स्रोत कर्णाली नदीको पश्चिम भङ्गालो झरही नाला हो । स्थानीयवासीका अनुसार सो प्रणालीको निर्माण करिब १२० वर्षभन्दा पहिले नै भएको हो । ऐतिहासिक महत्व बोकेको सो आयोजनाले कैलालीका समथर फाँटको सिँचाइ मात्रै गरेको छैन, तराईमा पहिलो पटक बिजुलीसमेत उत्पादन गरेको छ ।
रानीजमरा कुलरिया सिँचाइ मूल उपभोक्ता समितिका अध्यक्ष कुमारराज शाहीका अनुसार परम्परागत सिँचाइ प्रणालीलाई नै आधुनिक प्रणालीले अनुसरण गरेको छ । यसले इतिहासको सम्मान गर्दै आधुनिकताको खोजी गरेको छ ।
आयोजनास्थलको स्थलगत निरीक्षणमा पुगेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, सिँचाइ सचिव सुशीलचन्द्र तिवारी र जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक चूर्णबहादुर ओलीसमक्ष शाहीले भने, ‘पानीको उचित व्यवस्थापन गरिदिन अनुरोध छ । आयोजनाले सिँचाइ मात्रै नभई बिजुली पनि उत्पादन गरेकाले त्यसबाट स्थानीय उपभोक्ताले बढी लाभ पाउनुपर्छ भन्ने हाम्रो माग छ ।’
अध्यक्ष शाहीले आयोजनाको सञ्चालन, व्यवस्थापन स्थानीय उपभोक्ताले गर्ने भएकाले सरकारले कुनै चिन्ता नलिनसमेत अनुरोध गरे । यद्यपि, उनले निर्माण व्यवसायीले अझै पूर्ण काम सम्पन्न नगरेकामा गुनासो पनि गर्नुभयो । आयोजनाको रानी र जमराको काम सम्पन्न भएको छ । विश्व बैङ्कको सहयोगमा सिँचाइ प्रणालीको आधुनिकीकरणतर्फको प्रथम चरणको काम पूरा भएको छ । दोस्रो चरणको काम चालु आवमा सम्पन्न हुने लक्ष्यका साथ काम भइरहेको छ ।
अझै ३२ प्रतिशत काम बाँकी
आयोजना निर्माण थालिएको डेढ दशक बित्न लागे पनि अझै एकतिहाई काम बाँकी छ । हाल आयोजनको ६८ प्रतिशत भौतिक प्रगति भएको छ । अझै ३२ प्रतिशत काम बाँकी छ । कुल लागत रु २७ अर्ब ७० करोड लागतको यो आयोजनको वित्तीय प्रगति ६६ प्रतिशत रहेको छ ।
जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक ओलीका अनुसार आयोजनाको साइड इन्टेकमा गेट अटोमेसनसहित मूल नहर निर्माण पूरा भएको छ । बालुवा थिग्र्याउने पोखरी निर्माण पूरा भएको छ । मूल नहरमा गेट जडान, एक ४४ किलोमिटर लामो लम्की शाखा नहर परीक्षण सम्पन्न भइसकेको छ ।