काठमाडौं । यो वर्ष (सन् २०२३)मा हवाई यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको छ । यस वर्ष कोरोना महामारीको प्रभाव न्यून भई पर्यटकीय गतिविधमा सुधार आउँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै हवाई यात्रुको संख्यामा उल्लेख्य बढेको हो ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार यो वर्षको ११ महिना (जनवरी–नोभेम्बर)मा यात्रुको संख्या आन्तरिकतर्फ ३७.४८ प्रतिशत र अन्तर्राष्ट्रिय उडानतर्फ ४१.०४ प्रतिशतले बढेको छ ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सन् २०२३ मा आन्तरिक हवाई यात्रुको संख्या झन्डै २१ लाखले बढेको जानकारी दिए । आइतबार प्राधिकरणको २५ औं वार्षिकोत्सवमा उनले यस वर्ष नोभेम्बरसम्म कुल ७७ लाख ९४ हजार २१७ जनाले जहाजमार्फत यात्रा गरेको बताए । गत वर्ष सन् २०२२ मा आन्तरिक उडानतर्फ कुल ५६ लाख ६८ हजार ९४१ जनाले हवाई यात्रुले यात्रा गरेका थिए ।
यस्तै, यस वर्ष (नोभेम्बरसम्म) अन्तर्राष्ट्रियतर्फ ४१ लाख ५४ हजार ३९३ यात्रुले यात्रा गरेको महानिर्देशक अधिकारीले जानकारी दिए । यो गत वर्षको तुलनामा १२ लाख बढी हो ।सन् २०२२ को ११ महिनामा २९ लाख ४५ हजार ५४० जनाले अन्तर्राष्ट्रिय हवाइ यात्रा गरेका थिए ।
नेपालमा हाल आन्तरिकतर्फ डेढ दर्जन विमान कम्पनीले ३५ गन्तव्यमा हवाई सेवा दिँदै आएका छन् । अन्तर्राष्ट्रियतर्फ विदेशीसहित विभिन्न ३० एयरलाइन्सले विश्व्का ३३ गन्तव्यमा नियमित उडान गर्दै आएका छन् ।
आन्तरिकतर्फ देशभर ५५ वटा विमानस्थल छन् भने ३५ वटामा मात्रै हजाइ उडान हुन्छ । २० वटा विमानस्थलमा अझै उडान संचालन हुन सकेको छैन ।
अन्तर्राष्ट्रिय उडानका लागि ३ वटा विमानस्थल संचालनमा छन् । काठमाडौंको त्रिभुवन, भैरहवाको गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुन् । तर, त्रिभुवन अन्तर्राष्ट्रिय बाहेक अन्य विमानस्थलबाट नियमित उडान हुन सकेको छैन । एकाध बाहेक अधिकांश अन्तराष्ट्रिय उडान काठमाडौंबाटै हुन्छ ।
संचालनमा आएको डेढ वर्ष बिते पनि भैरहवाको गौतमबुद्ध विमानस्थलबाट दैनिक उडान हुन सकेको छैन भने पोखरा विमानस्थलमा कहिलेकाँही चार्टर्ड उडान मात्रै हुँदै आएको छ । यी दुई ४० अर्ब रुपैयाँ बढी लगानीमा निर्माण भएका हुन् । भारतले सीधा रुट अनुमति नदिँदा, सरकारले विदेशी एयरलाइन्सहरूलाई आकर्षित गर्न नसक्दा, यात्रु अभाव लगायत कारणले यी विमानस्थलबा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको हो ।