काठमाडौं । सन् २०२३ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार शनिबार (बिहान ५ बजेसम्म) १० लाख ८ हजार ६१४ पर्यटक भित्रिएका हुन् ।
योसँगै सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १० लाख पुर्याइने उल्लेख गरेको थियो ।
कोभिड-१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन करिब पुनःरुत्थान भएको हो । पर्यटन बोर्डका अनुसार महामारीपछि यो वर्ष ८५ प्रतिशत पर्यटन पुनःरुत्थान भएको छ । सन् २०१९ मा १२ लाख हाराहारी विदेशी पर्यटक आएका थिए । सोही आधारमा सन् २०२३ मा ८५ प्रतिशत पर्यटन पुनःरुत्थान भएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए ।
उनले भने, ‘यसवर्ष पर्यटक आगमन उत्साहवद्र्धक छ । आगामी दिनमा पर्यटक बढाउन भैरहवा र पोखरामा रहेका अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र पर्यटक स्रोत बजारमा प्रभावकारी बजारीकरणका लागि बोर्डले रणनीतिक कार्ययोजना बनाउनेछ ।’
पर्यटक आगमन उत्साहवद्र्धक रहेको र आगामी दिनमा थप वृद्धि हुने होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहका अपेक्षा छ । ‘सरकारको १० लाख पर्यटक पुर्याउने लक्ष्य पूरा भएको छ, यो नै उपलब्धि हो’, उनले भने, ‘एकपछि अर्को ठूला तारे होटल खुल्नेक्रम जारी छ । २०८१ सालसम्म थप १५ बढी होटल थपिँदैछन् । सरकारले निजी क्षेत्रसँगको साझेदारितालाई फराकिलो बनाएर लगेको खण्डमा आगामी दिनमा पर्यटक बढ्छन् ।’
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर १० लाख बढी पर्यटक भित्रिएको भन्दै उनले थप २ अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरालाई प्रभावकारी सञ्चालन गर्नसकेको खण्डमा अर्को वर्ष दोब्बर सङ्ख्यामा पर्यटकलाई स्वागत गर्न कुनै कठिनाइ नहुने उनको विश्वास छ ।
पर्यटकको सङ्ख्या कीर्तिमानकै रूपमा वृद्धि
सरकारले अर्को वर्ष विदेशी पर्यटकको सङ्ख्या झण्डै दोब्बर बनाउने लक्ष्य लिएको छ । सरकार १ वर्ष पूरा भएको अवसरमा पुस १० गते देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो वर्ष पर्यटकको सङ्ख्या लगभग कीर्तिमानकै रूपमा वृद्धि भएको बताएका थिए । ‘अहिले सुन्दा अपत्यारिलो लाग्ला तर क्षेत्रगत तयारी र योजनाबाट अर्को वर्ष हामी पर्यटकको सङ्ख्या झण्डै दोब्बर बनाउँछौँ भन्ने मेरो विश्वास छ,’ प्रधानमन्त्री दाहालले भनेका थिए ।
सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको छ । साथै सन् २०२३ देखि २०३२ लाई पर्यटन दशकका रुपमा मनाएर ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । चालु आव २०८०/८१ को बजेटमा मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनुका साथै पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गरिने उल्लेख गरिएको थियो । नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालगायत पर्यटकीयस्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचार प्रसार गरिने उल्लेख गरिएको छ ।
कुन महिनामा कति पर्यटक ?
पर्यटन बोर्डका अनुसार यस वर्षको अक्टोबरमा सबैभन्दा बढी १ लाख १७ हजार ३०६ पर्यटक आएका थिए । जुन आँकडा कुनै १ महिनामा भित्रिने विदेशी पर्यटकको सङ्ख्या हालसम्मकै बढी हो ।
वर्षको सुरु जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२८, अप्रिलमा ९८ हजार ७७४, मेमा ७७ हजार ७२, जुनमा ७२ हजार २४८, जुलाईमा ५७ हजार ७२५, अगष्टमा ६७ हजार १५३, सेप्टेम्बरमा ९१ हजार १२, नोभेम्बरमा १ लाख ८६ हजार २८ र डिसेम्बरमा ९० हजार ३९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज वर्षको अन्तिम दिनसम्म यो सङ्ख्या केही बढ्ने अनुमान गरिएको छ ।
भारतीय पर्यटक बढे
पर्यटन बोर्डका निर्देशक लामिछानेका अनुसार यसवर्ष भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएको छ । सन् २०१९ मा २ लाख ५४ हजार १५० भारतीय पर्यटक नेपाल आएकामा यस वर्ष ३ लाख १७ हजार ४८१ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
भारतपछि अमेरिकी पर्यटक बढेका छन् । अमेरिकी पर्यटकको सङ्ख्या यसवर्ष ९९ हजार ९८५ पुगेको छ । सन् २०१९ मा ९३ हजार २४१ अमेरिकी पर्यटक आएका थिए । बङ्गलादेशबाट पनि नेपाल आउने पर्यटक बढेका छन् । सन् २०१९ मा २४ हजार हाराहारी आएका बङ्गलादेशी पर्यटकको सङ्ख्या यस वर्ष ३६ हजार १९१ पुगेको छ ।
त्यसैगरी चिनियाँ पर्यटकको सङ्ख्या पनि क्रमशः बढिरहेको छ । यस वर्ष ६० हजार १६० चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१९ मा १ लाख ६९ हजार ५४३ चिनियाँ पर्यटक नेपाल आएका थिए । कोभिडपछि सीमा नाका खुलेका र चिनियाँ एयरलाइन्सको उडान पनि बढिरहेकाले आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने बोर्डको विश्वास छ ।
यस अवधिमा म्यानमारबाट १२ हजार ६८८, श्रीलङ्काबाट २१ हजार ८४४, संयुक्त अधिराज्य बेलायतबाट ५२ हजार ७९१ विदेशी पर्यटक भित्रिएका छन् ।
पर्यटन पुरानै लयमा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कोभिड- महामारीपछि मुलुकको पर्यटन करिब पुरानै लयमा फर्किएको बताए । उनले सरकारको लक्ष्यअनुरुप विदेशी पर्यटक भित्रिएको र अगामी वर्ष विदेशी पर्यटकको सङ्ख्या दोब्बर बनाउन प्रभावकारी कार्यक्रमअघि बढाइने बताए ।
पर्यटनमन्त्री किरातीले भने, ‘देशको पर्यटन करिब पुरानै लयमा फर्किएको छ । यो वर्ष १० लाख बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल वायुसेवा निगम सुधार्न र जहाज थपेर सेवा प्रभावकारी बनाउन रणनीतिक महत्वका काम अघि बढाइएको छ । हवाई क्षेत्रको सुधारका लागि धेरै काम भएका छन् । यसले पनि पर्यटन बढोत्तरीमा मद्दत पुग्नेछ ।’
प्रधानमन्त्री दाहालको सम्बोधनमा ठूलो खर्च भएका पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याउन र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी मुलुकका नजिकका विमानस्थलसम्म कम उचाइमा उडान गर्ने साना विमान सञ्चालनको पहल भइरहेको उल्लेख छ ।
भैरहवा र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान र अवतरण गर्ने विमानलाई इन्धन, टर्मिनल, ग्राउण्ड ह्याण्डलिङ र अन्य सेवा शुल्कमा सहुलियत दिएर प्रोत्साहन गरिने उनले बताए । साथै, निजगढ विमानस्थलको निर्माण सुनिश्चित गरी काठमाडौँ, भैरहवा र पोखरा विमानस्थलको विस्तार तथा सञ्चालन पनि सार्वजनिक–निजी साझेदारी मोडेलमा अघि बढाउने विकल्पमा छलफल भएको जानकारी दिएका थिए ।