काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
घोराही सिमेन्ट, हिमालयन डिष्टिलरी, आइसीएफसी फाइनान्स, सिक्लेस हाइड्रोपावर, राधी विद्युत कम्पनी, आत्मनिर्भर लघुवित्त, सपोर्ट लघुवित्त र साना किसान विकास लघुवित्तले गत वर्षको नाफाबाट घोषणा गरेको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।
यी कम्पनीहरुले साधरण सभा तथा लाभांश प्रयोजनका लागि (पुस १३, १५ र १६ गते) बुकक्लोज मिति तोकेका छन् । सो अनुसार आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् । आइतबार सार्वजनिक बिदा परेकाले १६ गते बुकक्लोज भएका कम्पनीको पनि लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
घोराही सिमेन्टले गत वर्षको नाफाबाट करबाहेक १५ प्रतिशत बोनस सेयर लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न घोराहीले पुस २८ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। सो सभा घोराही उपमहानगरपालिका १५ भरतपुर, दाङमा बिहान ९ बजे सुरु हुनेछ।
त्यसैगरी, हिमालयन डिस्ट्रीलरीले पुस २५ गते आफ्नो रजिष्टर्ड कार्यालयमा २३ औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र करसहित १५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
त्यस्तै, गत वर्षको नाफाबाट करसहिट ६.५ प्रतिशत नगद लाभांश घोषणा गरेको आइसीएफसी फाइनान्सले पुस २९ गते २० औं वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा आम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौँमा बिहान १० बजे सुरु हुनेछ।
त्यसैगरी, गत वर्षको नाफाबाट सिक्लेस हाइड्रोपावरले करसहित ६ प्रतिशत नगद, राधी विद्युतले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत गरी ५ प्रतिशत, आत्मनिर्भर लघुवित्तले १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद गरी १५ प्रतितश लाभांश घोषणा गरेको छ ।
त्यस्तै, सपोर्ट लघुवित्तले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६८४ प्रतिशत नगद र साना किसान लघुवित्तले १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद प्रस्ताव गरेको छ ।
सबै कम्पनीको साधरण सभाले पारित गरेपछि प्रस्तावित लाभांश सेयरधनीले पाउने छन् ।