बूढीगण्डकी निर्माण गर्न आर्थिक अभाव हुँदैन, स्रोत सुनिश्चित गरिसक्यौं : प्रधानमन्त्री

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि आर्थिक अभाव नहुने बताएका छन्।

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज गाउँपालिका कार्यालयमा आयोजना गरेको ‘जनप्रतिनिधि र सरोकारवालासँग प्रधानमन्त्री’ विषयक कार्यक्रममा उनले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बूढीगण्डकी आयोजनाका लागि आर्थिक स्रोतको सुनिश्चिता गरिसकेको उल्लेख गरे।

‘बूढीगण्डकी आयोजना के होला ? कसो होला ? भन्ने भइरहेको थियो,’ प्रधानमन्त्री दाहालले भने, ‘केही समयअघि मन्त्रिपरिषद्बाट भौतिक पूर्वाधारका निम्ति उठाउने रकमको ५ प्रतिशत बूढीगण्डकी आयोजना निर्माणका लागि छुट्याउने निर्णय गरेकाले अब आर्थिक अभाव नहुने वातावरण सिर्जना गरिएको छ ।’

१ हजार २०० मेगावाट क्षमताको उक्त आयोजना निर्माण छिट्टै अघि बढ्ने उनले बताए । ‘यो आयोजनाबाट भविष्यसम्म पनि गोरखा र गोर्खाली जनताको आर्थिक विकास र सम्बृद्धिका निम्ति तथा रोजगारीको अवसर पनि हुन्छ,’ प्रधानमन्त्री दाहालले भने ।

गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सांसदसमेत रहेका प्रधानमन्त्री दाहालले निर्वाचनका बेला आफूले जनता समक्ष गरेको प्रतिबद्धता नबिर्सिएको तर केही कारणले ढिलाइ भएको उल्लेख गरे । उनले गोरखाको देउरालीमा बन्द रहेको गोरखकाली रबर उद्योग निर्माण गर्नका लागि छलफल अगाडि बढाइसकेको बताए ।

महालक्ष्मी विकास बैंकका ग्राहकले विभिन्न संस्थाको सेवामा विशेष छुट पाउने Read Previous

महालक्ष्मी विकास बैंकका ग्राहकले विभिन्न संस्थाको सेवामा विशेष छुट पाउने

टेरामक्स खरिदबारे अनुसन्धान थाल्न लेखा समितिको अख्तियारलाई निर्देशन Read Next

टेरामक्स खरिदबारे अनुसन्धान थाल्न लेखा समितिको अख्तियारलाई निर्देशन