बजेट दुरुपयोगको बेथिति अन्त्य गर्दैछौं : अर्थमन्त्री

चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट दुरुपयोगको बेथिति अन्त्य हुने बताएका छन् । मंगलबार १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘३ करोडभन्दा कमको आयोजना केन्द्रले अगाडि बढाउँदैन, १ करोडभन्दा कमको आयोजना प्रदेशले हाल्दैन, १ करोडभन्दा तलको आयोजना स्थानीय सरकारले गर्ने कार्यविधि आइसकेको छ । राष्ट्रिय गौरवको आयोजनाबाहेक चार गुणाभन्दा बढी नगर्ने निर्णय भएको छ । अर्को बर्षबाट बहुवर्षे आयोजनामा बजेट नराख्ने र ठेकदारले दाबी गर्ने परम्पराको अन्त्य हुनेछ । जति बजेट आवश्यक हो, त्यो मन्त्रालयले माग गर्ने व्यवस्था हुँदैछ । यसले आन्तरिक बजेटमा अनुशासन, बेथितिको अन्त्य हुँदैछ,’ उनले भने ।

उनले सरकारले अर्थतन्त्रको आवश्यकता अनुसार, समयसापेक्ष मौद्रिक नीति हुनुपर्छ भनेर निरन्तर पहल गरेको बताए । ‘अहिलेको मौद्रिक नीतिले कर्जामा लगानी बढाउँछ, ब्याजदर घटाउँछ, लगानी वृद्धि गर्छ, उपभोक्ताले उपभोग गर्न गाह्रो मान्नुपर्दैन, भविष्य सुनिश्चित रहेको छ,’ उनले भने।

डा. महतले चितवन गतिशील जिल्ला भएका बताए । यहाँका आदिवासी थारुहरूको यो जिल्लाको संस्कृति, सभ्यता, भाषा र रितिरिवाज संरक्षण गर्न तथा संसारलाई चिनाउन ठूलो भूमिका रहेको बताउँदै उनले ‘संसारभरिका पर्यटकका लागि यहाँका वन्यजुन्त, थारुहरूको संस्कृति र पम्परा यहाँको आकर्षण बनेको छ । उनीहरूको संरक्षणमा सरकार कटिबद्ध छ ।’

‘देशभरिकै विभिन्न स्थानबाट बसाइसराइ गरेर चितवनमा बसोबास गर्नुभएका विभिन्न पृष्ठभूमिका नागरिक समुदायले यहाँको विकासमा खेल्नुभएको छ । यो ठाउँमा पहिला पनि विकासको आधार सिर्जना भएकै हो । ०४६ पछि चितवनले विकासको फड्को मारेको छ,’ उनले भने ।

अहिले आर्थिक सूचकहरू विस्तारै सकरात्मक हुँदै गएको उनले बताए । ‘अहिलेसम्मकै बढी विदेशी पर्यटक आगमन भएको छ । आन्तरिक पर्यटक पनि बढेको छ । यसले सौराहको पर्यटन, व्यवसाय र रोजगारी वृद्धि हुनेछ,’ मन्त्री डा. महतले भने, ‘शेयर बजार उकालो लागेको छ, जग्गा कारोबारमा आएको शिथिलता पनि घट्दैछ । विदेशबाट आएको विप्रेषण पनि बढिरहेको छ, ब्याजदर कम हुँदै गएको, ऋणीलाई चैतसम्म भाका दिइएकाले उनीहरूलाई पनि राहत पुग्नेछ । बैंकबाट कर्जा पनि विस्तारै बढिरहेको छ । मूल्यवृद्धि साढे ५ प्रतिशतमा झरेको छ । यसले बिजनेश व्यापारको लागत कम गर्नेछ ।’

स्वदेशमै फलाम उत्खनन्को तयारी, जग्गा प्राप्ति प्रक्रिया अघि बढ्यो Read Previous

स्वदेशमै फलाम उत्खनन्को तयारी, जग्गा प्राप्ति प्रक्रिया अघि बढ्यो

जुम्लाको हवाई टिकटमा कोटा निर्धारण Read Next

जुम्लाको हवाई टिकटमा कोटा निर्धारण