काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट अब तीन वटा वाणिज्य बैंकले मात्र लाभांश घोषणा गर्न बाँकी छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १९ वाणिज्य बैंकमध्ये प्रभु, कृषि विकास र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले मात्र लाभांश घोषणा गर्न बाँकी रहेको हो ।
हाल संचालनमा रहेका २० मध्ये नेप्सेमा १९ वटा (राष्ट्रिय वाणिज्य बैंक बाहेक) सूचीकृत छन् । तीमध्ये हालसम्म ११ वटाले लाभांश घोषणा गरिसकेका छन् भने ५ वटाले नदिने घोषणा गरिसकेका छन् ।
घोषणा गर्न बाँकीमध्ये प्रभु र नेपाल इन्भेष्टमेन्ट मेगाले लाभांश दिन सक्ने देखिँदैन । यी दुवै बैंकको गत वर्षको कमाईबाट लाभांश क्षमता १ प्रतिशतभन्दा कम छ । यद्यपि, यी बैंकहरूले अघिल्ला वर्षहरूको संचिति रिटेन्ड अर्निङमा रहेको रकम थपेर लाभांश बाँड्न भने सक्छन् ।
कृषि विकास बैंकले गत वर्षको नाफाबाट १४ प्रतिशतसम्म लाभांश बाँड्न सक्ने क्षमता छ । तर, चालु वर्षको पहिलो त्रैमासमै घाटामा गएकाले बैंकले घोषणा गरे पनि राष्ट्र बैंकले रोक्न सक्ने देखिन्छ ।
एनआइसीले दियो धेरै, पाँचको हात खाली
गत वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका ११ वाणिज्य बैंकमध्ये एनआइसी एशियाले सबैभन्दा धेरै दिएको छ । लगातार अघिल्ला ३ वर्ष लाभांश नबाँडेको एनआइसीले गत वर्ष सर्वाधिक ३०.५२ (२९ प्रतिशत बोनस सेयर र १.५२ प्रतिशत नगद) लाभांश दिएको छ ।
त्यस्तै, एभरेष्ट बैंकले २०.५३ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्डले १९ प्रतिशत लाभांश दिएका छन् । सानिमा, माछापुच्छ्रे, नबिल र नेपाल एसबीआईले १० देखि १५ प्रतिशतको बीचमा लाभांश दिएका छन् भने अन्य बैंकले १० प्रतिशत कम लाभांश दिएका छन् ।
घोषणा गरेका मध्ये सिद्धार्थ बैंकले गत वर्षको नाफाबाट सबैभ्न्दा कम ४।२१ प्रतिशत लाभांश दिएको छ । कुमारी, एनएमबी, प्राइम कमर्शियल, नेपाल र हिमालयन बैंकले गत वर्षको नाफाबाट लाभांश नदिने घोषणा गरेका छन् । विगतमा वर्षेनी लाभांश दिँदै आएका यी बैंकले यस वर्ष भने सेयरधनीको हात रित्तै बनाएका छन् ।
लाभांश घोषणा गरेका बैंकमध्ये लक्ष्मी सनराइज बाहेक अरु सबैले लाभांश प्रयोजनाका लागि बुकक्लोज समेत गरिसकेका छन् । केहीले साधरण सभा समेत सम्पन्न गरिसकेका छन् भने अरुले पनि मिति घोषणा गरिसकेका छन् । सम्बन्धित बैंकको सभाले पारित गरेपछि प्रस्तावित लाभांश सेयरधनीले पाउने छन् ।