मुग्लिन-पोखरा सडक : पश्चिमखण्ड सुस्त हुँदा पूर्वमा कामले गति लिँदै, दुईतर्फी कालोपत्र सुरू

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा सडक कालोपत्रे गरिँदै ।

काठमाडौं । मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वी खण्ड (तनहुँको आबुखैरेनी-जामुने)मा सडक निर्माणले गति लिएको छ । दुई खण्डमा विभाजन गरी विस्तार थालिएको यस सडकको पश्चिम खण्डको काम सुस्त भए पनि पूर्वी खण्डले भने गति लिएको हो ।

यस खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणसँगै कालोपत्रको कामले पनि गति लिएको छ । यसअघि साढे १२ किलोमिटरमा एकतर्फी कालोपत्र गरिएकोमा अब दुईतर्फी रुपमा कालोपत्र थालिएको छ ।

मुग्लिन-पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड)ले सवारी आवागमनमा असर नपर्ने गरी दुईतर्फी कालोपत्र गर्न थालेको इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

उनले भने, ‘एकतर्फी कालोपत्र भइसकेको ठाउँमा अर्कोतर्फ २ किलोमिटर दूरीमा कालोपत्र गरिएको छ । यसअघि कालोपत्र भइसकेको खण्डबाट सवारीसाधन चलाएर अर्कोतर्फ कालोपत्र गर्ने काम जारी छ ।’

पूर्वी खण्डमा हालसम्म १२.५ किलोमिटर सडक एकतर्फी कालोपत्र भइसकेको छ । बरादीदेखि मार्कीचोकसम्म कालोपत्र भइसकेको छ । अर्कोतर्फ १२.५ किलोमिटर दूरीमा दुईतर्फी कालोपत्र गर्ने योजना छ । यसअघि आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट मार्किचोकसम्म ३.५ र बन्दीपुर गाउँपालिका-१ नाहालदेखि छिर्कनेसम्म ५.५ किलोमिटर खण्ड एकतर्फी कालोपत्र भइसकेको इन्जिनियर पाण्डेले बताए ।

पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा हालसम्म करिब ४५ प्रतिशत काम सकिएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको उक्त खण्ड ४१.५ किलोमिटर दूरीको छ ।

राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ । यो खण्डमा ६३१ घरटहरा हटाइनेछन् । त्यसबापत रु २२ करोड ४५ लाख मुआब्जा वितरण गरिने बताइएको छ ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भइ २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।

पश्चिम खण्ड अन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । पश्चिम खण्डको काम भने १२ प्रतिशत मात्रै सकिएको बताइएको छ ।

विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु ७ अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौँडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

आन्तरिक पर्यटनमा आशा जगाउँदै 'जाउँ है पोखरा'अभियान Read Previous

आन्तरिक पर्यटनमा आशा जगाउँदै 'जाउँ है पोखरा'अभियान

क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दै जुत्ता उद्योग Read Next

क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दै जुत्ता उद्योग