काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा साढे १६ लाखभन्दा धेरैले आवेदन दिएका छन् ।
सीडीएस एण्ड क्लियरिङका अनुसार कम्पनीको आइपीओमा आवेदन दिने अन्तिम दिन सोमबार ५ बजेसम्म कुल १६ लाख ६० हजार २२ जनाले आवेदन दिएका छ । यद्यपि, अन्तिम तथ्यांक आइ नसकेकाले आवेदकको संख्या अझै बढ्न सक्ने सीडीएससीले जनाएको छ ।
कम्पनीको आइपीओमा मागभन्दा १.२९ गुणा धेरै आवेदन परेको छ । कम्पनीले मंसिर २७ गतेदेखि प्रतिकित्ता २०६ रुपैयाँ (प्रतिकित्ता १०६ रुपैयाँ प्रिमियम थपेर)दरले २ करोड ४९ लाख कित्ता सेयर बिक्रीमा ल्याएको थियो । जसमा मागभन्दा धेरै अर्थात् ३ करोड २२ लाख १५ हजार ७० कित्ताका लागि आवेदन परेको छ ।
२० कित्तासम्म पाउने
कम्पनीको आइपीओमा आवेदन दिने सबैले कम्तीमा १० कित्ता सेयर पाउने भएका छन् भने बढीमा २० कित्ता पाउने भएका छन् । धितोपत्र बाँडफाँट नियमावली अनुसार भागपुगेसम्म सबै आवेदकलाई कम्तीमा १० कित्ताका दरले सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था छ ।
कम्पनीको आइपीओमा १६ लाख ६० हजार २२ जनाले आवेदन दिएका छन् । सो अनुसार सबै आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँट गर्न १ करोड ६६ लाख २०० कित्ता भए पुग्छ । बाँकी ८३ लाख कित्ता सेयर गोलप्रथाबाट थप १० कित्ताका दरले बाँड्नुपर्छ । यस अनुसार गोलप्रथाबाट ८ लाख बढीले २० कित्ता सेयर पाउने देखिन्छ ।