मौद्रिक नीति समीक्षामा गरिएका यी व्यवस्था, जसले सेयर लगानीकर्तालाई हौस्यायो

काठमाडौं । विगत अढाई वर्षदेखि ओरालो लागेको नेप्सेमा आइतबार एकाएक पोजेटिभ सर्किट ब्रेक लागेर पूरै समय कारोबार नभई बन्द भयो । तीन पटक सर्किट ब्रेक लागेको आज जम्मा ९ मिनेट कारोबार हुँदा नेप्से परिसूचक १११.२० अंकले बढेर १९६३.९८ विन्दु पुग्यो ।

२०७८ भदौमा इतिहासकै सर्वाधिक ३१९८ विन्दु पुगेको नेप्से त्यसयता लगातार घटिरहेको छ । यस अवधिमा नेप्सेले ५ पटक १८०० विन्दुमा आइपुग्यो । यस अवधिमा कारोबार रकम पनि खुम्चियो । दैनिक २२ अर्बको कारोबार रेकर्ड बनेकोमा पछिल्लो समय दैनिक १ अर्बभन्दा कम कारोबारमा सीमित छ ।

नेपाल राष्ट्र बैंकको कडाइ, महँगो ब्याजदर, आर्थिक मन्दी लगायत कारणले सेयर बजार घटेको लगानीकर्ता बताउँदै आएका थिए । यसैबीच, गत शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै सेयर बजारलाई प्रभाव पार्ने व्यवस्थामा लचकता देखाएपछि सेयर बजारमा आज एकाएक उछाल आएको हो ।

सेयर बजारलाई कडाइ गर्दै आएको राष्ट्र बैंक नरम भएपछि लगानीकर्ता आशावादी र उत्साही हुँदा आइतबार नेप्सेले सेन्चुरी हान्ने आधार बनेको हो । सेयर बजारमा लगानीकर्ताको मनोवलले ठूलो भूमिका खेल्दछ । राष्ट्र बैंकको पछिल्लो नीतिले लगानीकर्ताको मनोबल बढाउँदा आज बजारमा सकारात्मक प्रभाव पारेको हो । यद्यपि, यो बढाइ दिगो हुनेमा भने शंका कायमै छ ।

यी व्यवस्थाले लगानीकर्तालाई हौस्यायो

१. सेयर कर्जाको जोखिमभार घटाउनु : राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिमभार घटाएसँगै लगानीकर्ता उत्साहित भएका हुन् । राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा मार्फत सेयर धितो कजाको जोखिमभार २५ प्रतिशत विन्दुले घटाएर १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको छ । लगानीकर्ताले सेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशतमा झार्न माग गर्दै आएका थिए । तर, राष्ट्र बैंकले थोरै भए पनि घटाएपछि मनोवल बढेको लगानीकर्ता बताउँछन् ।

अनुत्पादक क्षेत्रमा कर्जा बढेको भन्दा राष्ट्र बैंकले २ वर्षअघि सेयर धितो कर्जाको जोखिमभार दोब्बरले बढाएर १५० प्रतिशत र सेयर धितो कर्जामा ४/१२ करोडको सीमा लगाएको थियो । त्यसको लामो समयसम्म विरोध भएपछि केन्द्रीय बैंकले चालु आवको मौद्रिक नीतिमार्फत ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशतमा झारेको थियो । त्यस्तै, केही समयअघि सेयर धितो कर्जाको सीमा बढाएर व्यक्तिगततर्फ १५ करोड र संस्थागततर्फ २० पुर्याएको थियो ।

२. बैंकदर र नीतिगत दर घटाउनु : राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा मार्फत ब्याजदर घटाउन सहयोग पुग्ने गरी बैंकदर र नीतिगत दर पनि घटाएको छ । केन्द्रीय बैंकले बैंकदरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत कायम गरेको छ । त्यस्तै, नीतिगत दरलाई पनि ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेको छ भने निक्षेप संकलन बोलकबोल दर ४.५ प्रतिशतबाट घटाएर ३.० प्रतिशतमा झारेको छ ।

राष्ट्र बैंकका यी व्यवस्थाले आगामी दिनमा ब्याजदर घटाउन सहयोग पुग्नेछ । अहिले बैंकिङ प्रणालीमा झन्डै ५ खर्ब लगानी योग्य रकम हुँदा पनि ब्याजदर महँगो भन्दै कर्जाको माग छैन । यस्तो अवस्थामा ब्याजदर घटे कर्जा लगानी बढ्ने अपेक्षा छ । बैंकमा पर्याप्त तरलता भएको र ब्याजदर पनि केही घट्दा ऋण लिएर लगानी गर्न सहज हुने लगानीकर्ताको बुझाइ छ ।

३. बैंकहरूलाई पूँजी व्यवस्थापनमा सहज : राष्ट्र बैंकले बैंकहरूको पूँजी व्यवस्थापन सम्बन्धी व्यवस्थामा पनि लचकता अपनाएको छ । राष्ट्र बैंकले बैंकहरूले डिबेन्चरलाई स्रोतको रुपमा गणना गर्न पाउने समयवधि लम्ब्याइदिएको छ ।

बैंक तथा वित्तीय संस्थाले निष्काशन गरेको डिबेन्चरलाई २०८० पुस सम्म मात्र स्रोतका रुपमा समेत शतप्रतिशत गणना गर्न पाउने व्यवस्था रहेको रहेकोमा अब माघदेखि २०८१ असारसम्म डिबेन्चरको ५० प्रतिशत रकम स्रोतका रुपमा गणना गर्न पाउने व्यवस्था गरेको छ । यसले बैंकहरूलाई स्रोत जुटाउन सहज हुनेछ । जसले प्रणालीमा तरलता बढाउने र सहजै ऋण पाउने अवस्था सृजना गर्न सहयोग पुग्छ ।

४. कर्जा पुनरसंरचना र पुनरतालिकीकरणमा सहजता : राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा असुलीमा पनि सहजता गरिदिएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय क्षेत्रमा नियतवश कर्जा भुक्तान नगर्ने ऋणीहरूलाई भने कारबाही थप प्रभावकारी बनाउने बताएको छ ।

तर, परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरूलाई भने कर्जा पुनरसंरचना र पुनरतालिकीकरण लगायतका माध्यमबाट सहजीकरण गरिने भएको छ । यसका लागि बैंक तथा वित्तीय संस्थाले समस्यामा परेका ऋणीहरूबाट प्राप्त निवेदनको विश्लेषणका आधारमा बक्यौता ब्याजको १० प्रतिशत रकम असुल गरी कर्जा पुनरसंरचना गर्न सक्ने अवधि २०८० चैत मसान्तसम्म कायम गरी पुनरसंरचना गर्न सक्ने क्षेत्रहरूको विस्तार गर्ने घोषणा गरेको छ ।

राष्ट्र बैंकको यो व्यवस्थाले बैंकहरूको खराब कर्जा र प्रोभिजनिङ गर्नुपर्ने रकम समेत घटाउने छ । यसले बैंकहरूलाई केही राहत मिल्ने देखिन्छ । पछिल्लो समय खराब कर्जा बढ्दा बैंकहरूको नाफा प्रभावित भएको छ भने ऋण लगानीमा समेत सजह हुन थालेका छन् ।

यसैगरी, पछिल्लो समय अर्थतन्त्रको बाह्य सूचकमा लगातार सुधार आइरहेको छ भने आन्त्रिक सूचकहरूमा पनि क्रमशः सुधारका संकेत देखिन थालेका छन् । यसले पनि लगानीकर्तालाई आशावादी बनाउँदै लैजाने अपेक्षा छ ।

ठूलोखोला जलविद्युत् आयोजनाको टनेल 'ब्रेक थ्रु' Read Previous

ठूलोखोला जलविद्युत् आयोजनाको टनेल 'ब्रेक थ्रु'

मुग्लिन-पोखरा सडकको २० किमी ६ लेनको बनाइँदै Read Next

मुग्लिन-पोखरा सडकको २० किमी ६ लेनको बनाइँदै