नेप्सेले हान्यो ‘सेन्चुरी’, यी २ दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । आइतबार सेयर बजारमा तेस्रो पोजेटिभ सर्किट ब्रेक लागेर कारोबार बन्द भएको छ । जम्मा ९ मिनेट कारोबार हुँदा नेप्से ६ प्रतिशतले बढेपछि दिनभरका लागि कारोबार बन्द भएको हो ।

नेप्सेका अनुसार बजार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बढेपछि कारोबार २० मिनेट बन्द भएको थियो । त्यसपछि फेरि खुलेको नेप्से २ मिनेटमै ५ प्रतिशतले बढेपछि कारोबार ४० मिनेटका लागि स्थगन भएको थियो । त्यसपछि फेरि खुलेको नेप्से २ मिनेटमै ६ प्रतिशतले बढेपछि दिनभरका लागि कारोबार बन्द भएको हो ।

नेप्सेको नियम अनुसार कारोबार सुरु भएको १ घण्टाभित्र नेप्से ४ प्रतिशतले घटेमा वा बढेमा २० मिनेटसम्मका लागि कारोबार स्थगित हुने व्यवस्था छ । त्यस्तै, पुनः कारोबार सुरु भएको एक घण्टाभित्र ५ प्रतिशतले बढेमा वा घटेमा ४० मिनेट कारोबार स्थगित हुनेछ । परिसूचकमा ६ प्रतिशत बढे÷घटेमा सो दिनका लागि नै कारोबार स्थगित हुने व्यवस्था छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैंकदर र सेयर कर्जाको जोखिम भार समेत घटाएपछि लगानीकर्ता उत्साहित हुँदा नेप्सेले छलाङ मारेको हो । राष्ट्र बैंकले सेयर कर्जाको जोखिमभार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशतमा झारेको छ । त्यस्तै, बैंकदर र नीतिगत दरहरु घटाउँदा ब्याजदर सस्तिने भएकाले लगानीकर्ता थप आशावादी बनेका हुन् ।

आइतबार जम्मा ९ मिनेट कारोबार हुँदा नेप्से परिसूचक १११.२० अंकले बढेर १९६३.९८ विन्दुमा पुगेको छ । यस अवधिमा ४८ करोड २८ लाख रुपैयाँ बढीको १३ लाख ६७ हजार ६१५ कित्ता सेयर किनबेच भएको छ ।

यसदिन कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ । हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै ८.६३ प्रतिशतले बढेको छ । कारोबारमा आएका २४४ कम्पनीमध्ये २२७ कम्पनीको सेयर मूल्य बढेको छ ।

आज माउन्टेन इनर्जीको सर्वाधिक कारोबार भएको छ । यसको साढे ३ करोड बढीको सेयर किनबेच भएको छ ।

तेहेरो अंकको छलाङ मारेको बजारमा २ दर्जन बढी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । रिलायन्स फाइनान्स, जोशी हाइड्रोपावर, राप्ती हाइड्रोपावर, शुभम पावर र कालिन्चोक दर्शनको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, इङ्वा हाइड्रोपावर, त्रिशुली जलविद्युत्, युनियन हाइड्रो, खानीखोला हाइड्रोपावर, नेपाल एसबीआई बैंक, चन्द्रागिरी हिल्स, सिंगटी हाइड्रो, हिमालयन ऊर्जा, समता लघुवित्त, ङादी ग्रुप पावर, सीवाइसी लघुवित्त, आशा लघुवित्त लगायत डेढ दर्जन कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुनसहित विदेशी नागरिक पक्राउ Read Previous

त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुनसहित विदेशी नागरिक पक्राउ

ठूलोखोला जलविद्युत् आयोजनाको टनेल 'ब्रेक थ्रु' Read Next

ठूलोखोला जलविद्युत् आयोजनाको टनेल 'ब्रेक थ्रु'