भन्सार छल्ने विरुद्ध कडा कदम चाल्दै विभाग, दुई कम्पनीलाई मुद्दा, चार करोड बिगो दाबी

काठमाडौं । नक्कली प्रज्ञापन पत्र बनाएर भन्सार छल्ने विरुद्ध आन्तरिक राजश्व विभागले मुद्दा दायर गरेको छ । नक्कली प्रज्ञापन पात्र बनाएर कर छलेको अभियोगमा आयातकर्ता र भन्सार एजेन्टविरुद्ध विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

 

सागर एण्ड साधना बिजनेस प्रालिका लीलाबहादुर र गंगाबहादुर घिमिरे तथा भन्सार एजेन्ट दीपेन्द्रराज पाण्डेविरुद्ध विभागले शुक्रबार चार करोड ६४ लाख ४३ हजार १७० रुपैयाँ बिगो मागी अदालतमा मुद्दा दायर गरेको हो ।

 

उक्त कम्पनीले राजश्व चुहावट गरेको दुई करोड ३२ लाख २१ हजार ५८९ रुपैयाँको दोब्बर रकम जरिवाना र तीन वर्ष सजाय माग गरी उनीहरुमाथि मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

 

पैठारीकर्ताले मालवस्तुको उत्पत्तिको मुलुक चीन मात्र घोषणा गरेकोमा फ्ल्याट सोल जुत्ता र स्पोर्ट्स जुत्तामा उत्पत्तिको मुलुक इन्डोनेशिया, भियतनाम हुनुपर्नेमा फरक परेको देखिएको तथा पैठारीकर्ताले मालवस्तु पैठारी गर्दा भन्सार बिन्दुमा कुनै नाम उल्लेख नगरेको अनुसन्धानबाट खुलेको विभागले जनाएको छ ।

 

‘ख्यातिप्राप्त ब्रान्ड रिबुक, एडिडास, फिला, नर्थफेस, नाइकी, पुमा नाम भएका मालवस्तु फेला परेको प्रमाणित भएकोले प्रतिवादी समेतले राजस्व चुहावट गर्ने दुरासय राखी मालसामानको प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, गुणस्तर एवम् मालवस्तुको उत्पत्तिको मुलुक समेत फरक पारी यथार्थ कारोबार मूल्यभन्दा न्यून षणा गरी मालवस्तुको भौतिक विशेषता, गुणस्तर फरक पारी राज्यलाई बुझाउनुपर्ने कर छल्ने प्रपन्च रचेको देखियो,’ विभागले तयार गरेको अभियोगपत्रमा भनिएको छ ।

 

फर्म सञ्चालकहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित दफा ४(क), (ख ) र (ग) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले चुहावट कार्यमा संलग्न समेतलाई अनुसन्धानमा तानेर मुद्दा दायर गरिएको विभागको भनाई छ ।

हप्ता दिनदेखि राजधानीको फोहर उठेन, दुर्गन्ध फैलँदै Read Previous

हप्ता दिनदेखि राजधानीको फोहर उठेन, दुर्गन्ध फैलँदै

स्थानीय तहमा बैंक नहुँदा सदरमुकाममा भिड Read Next

स्थानीय तहमा बैंक नहुँदा सदरमुकाममा भिड