मनाङ । कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा धेरै विदेशी पर्यटक आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार पछिल्लो ११ महिनामा २० हजार ८०० भन्दा बढी बाह्य पर्यटक भित्रिएका छन् ।
सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म २० हजार ८०६ विदेशी पर्यटक भित्रिएको प्रमुख भुजेलले बताए । उनका अनुसार अक्टोबर महिनाम सबैभन्दा बढी ५ हजार १९८ पर्यटक भित्रिएका छन् ।
साथै सन् २०२३ को जनवरीमा १८४, फेब्रुअरीमा ४९९, मार्चमा २ हजार ७३६, अप्रिलमा ४ हजार २२१, मेमा १ हजार ५७१, जुनमा २५२, जुलाईमा २ ५६, अगस्टमा ३१६, सेप्टेम्बरमा २ हजार २५७, अक्टुबरमा ५ हजार १९८ र नोभेम्बरमा ३ हजार २४८ पर्यटक भित्रिएका छन् ।
सो अवधिमा सबैभन्दा बढी फ्रान्सका नागरिक मनाङ भ्रमणमा आएका छन् । फ्रान्सका २ हजार ४८५, इजरायलका १ हजार ८३, जर्मनका १ हजार ८३७, बेलायतका १ हजार ४७३, अमेरिकाका १ हजार २१३, रसियाका १ हजार १६७, अस्ट्रेलियाका १ हजार १०५, नेदरल्याण्डसका ९७० र भारतका ८९७ पर्यटक भित्रिएको एक्याप मनाङले जनाएको छ ।
सन् २०२२ मा मनाङमा १५ हजार ९३ विदेशी पर्यटक भित्रिएका थिए । कोभिड महमारीको समयमा पनि सन् २०२० मा १ हजार ९७६ र सन् २०२१ मा २ हजार ३७३ बाह्य पर्यटक भित्रिएका थिए । साथै सन् २०१९ मा २६ हजार ६४७, सन् २०१८ मा २९ हजार ४८४ र सन् २०१७ मा २७ हजार ६८ पर्यटक भित्रिएका थिए । कोभिड महामारीपछि मनाङमा हालसम्मकै बढी पर्यटक भित्रिएका हुन् ।
मनाङमा विशेष गरी साहसिक पदयात्राका लागि विदेशी पर्यटक आकर्षित हुन्छन् । विश्वकै १०औं उच्च जोखिमपूर्ण यात्रा गर्न मनाङमा पर्यटक आकर्षित हुने गरेका छन् ।रासस