मुग्लिन-पोखरा सडक कालोपत्र सुरू, १५ दिनमा ४ किमी सकिने

फाइल तस्वीर । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नालामा सडक कालोपत्र गरिँदै ।

तनहुँ । पृथ्वीराजमार्गको पोखरा-मुग्लिन सडक (पूर्वीखण्ड)अन्तर्गत आँबुखैरेनी गाउँपालिकाचोकदेखि मार्कीचोकसम्म सडकखण्डमा कालोपत्रको काम सुरु गरिएको छ ।

आँबुखैरेनी गाउँपालिका चोकबाट सुरु गरी गत असारमा कालोपत्र गरिएको स्थान मार्कीचोकसम्म जोड्ने गरी कालोपत्र अघि बढाएको हो । यसअघि आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट सुरु गरी मार्किचोकसम्मको करिब ३ किलोमिटर दूरीमा कालोपत्र सम्पन्न गरिसकेको छ ।

अब गरिने ४ किलोमिटर दूरी कालोपत्र काम १० देखि १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्य रहेको पोखरा-मुग्लिन सडक योजना (पूर्वी खण्ड)का इञ्जिनियर विष्णुप्रसाद पाण्डेको भनाइ छ । जिल्लाको डुम्रेदेखि छिर्कनसम्मको करिब ६ किलोमिटर दूरी एकतर्फी कालोपत्र केही समय अघि सम्पन्न भएको थियो ।

बन्दीपुर-१ नाहालादेखि व्यास-१२ छिर्कनसम्मको उक्त दूरीमा अस्फाल्ट प्रविधिको कालोपत्र तिहारपछि लगत्तै सम्पन्न गरेको हो । तिहारअघि ३ किलोमिटर र तिहारपछि ३ किलोमिटर दूरीमा कालोपत्र सम्पन्न गरेपछि आँबुखैरेनी क्षेत्रबाट काम सुरु गरेको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

राजमार्गको पूर्वी खण्डको एकतर्फी सडकमा कालोपत्र गर्न थालेपनि एकतर्फी पूरै कालोपत्र गर्ने कार्य बाँकी छ । बरादीबाट डुम्रे, छिर्कनबाट दमौली र दमौलीबाट जामुनेसम्म एकतर्फी कालोपत्र गर्ने कार्य बाँकी रहेकाले एकतर्फी कालोपत्र गरिए पनि सवारीसाधनलाई धेरै सहज हुने विश्वास गरिएको छ ।

‘बिजुलीको खम्बा हटाइएको, घर भत्काएर खुला भएका स्थानमा काम गर्दै जाने योजनाअनुरुप निर्माण र कालोपत्रका कार्य अघि बढाइएको छ,’ इञ्जिनियर पाण्डेले भने, ‘उक्त खण्डमा हालसम्म ३६ प्रतिशतभन्दा बढी कार्य प्रगति भइसकेको छ ।’

‘सडकका दायाँबायाँ कटिङ गर्ने र कल्भर्ट राख्नेलगायतका कार्य सम्पन्नपश्चात कालोपत्र कार्य अघि बढाइएको हो,’ उनले भने, ‘कालोपत्र गर्नुपूर्व समाबेस र बेस प्रयोग गरी रोलिङ गरेर सुकेपछि बिटुमिनको झोल राखेर कालोपत्र गरिन्छ ।’

उक्त राजमार्गको पूर्वी सडकअन्तर्गत ४१.४५ किमी दूरीमा सडक विस्तारका कार्य भइरहेको छ । पूर्वी खण्डको सडक निर्माणका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि निर्माण प्रक्रिया अघि बढाइएको हो ।

पूर्वी खण्डको रु ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का लागेको हो । सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुनेछ । सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी २५-२५ मिटर हुनेछ भने सहरी क्षेत्र बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ ।

पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ भने यसखण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको इञ्जिनियर पाण्डेले जानकारी दिए ।

चोभार सुक्खा बन्दरगाह ट्रान्स नेपाल फ्रेट सर्भिसेजले संचालन गर्ने Read Previous

चोभार सुक्खा बन्दरगाह ट्रान्स नेपाल फ्रेट सर्भिसेजले संचालन गर्ने

सिर्सिया सुख्खा बन्दगाह भन्सारमा कन्टेनर फुटाएर सुकमेल चोरी Read Next

सिर्सिया सुख्खा बन्दगाह भन्सारमा कन्टेनर फुटाएर सुकमेल चोरी