लाभांश घोषणा गरेकै दिन नबिल बैंकका सेयरधनीले गुमाए साढे १२ अर्ब

काठमाडौं । नेपाली सेयर बजारमा ‘ब्लुचिप’ मानिने नबिल बैंकका सेयरधनीले एकैदिन साढे १२ अर्ब रुपैयाँ बराबराको सम्पत्ति गुमाएका छन् ।

बिहीबार (मंसिर ७ गते) बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट इतिहासकै कम ११ प्रतिशत नगद (करसहित) दिने घोषणा गरेको थियो । सो लगत्तै बैंकको सेयर मूल्यमा भारी गिरावट आउँदा लगानीकर्ताले एकैदिन साढे १२ अर्ब गुमाएका हुन् ।

बिहीबार बैंकको सेयर मूल्य प्रतिकित्ता ४६ रुपैयाँ अर्थात् ८.२० प्रतिशतले घटेर प्रतिकित्ता ५१५ रुपैयाँमा आयो । बुधबार बैंकको कुल बजार पूँजीकरण १ खर्ब ५१ अर्ब ७८ करोड रहेकोमा बिहीबार साढे १२ अर्बले घटेर १ खर्ब ३९ अर्ब ३४ करोड रुपैयाँमा झर्यो । यस अनुसार लगानीकर्ताले एकैदिनमा साढे १२ अर्ब रुपैयाँ गुमाएका हुन् ।

नबिल बैंकले विगतका वर्षहरुमा बम्पर लाभांश दिँदै आएको थियो । बैंकले यसअघिका वर्षहरुमा न्यूनतम ३० देखि अधिकतम १४० प्रतिशतसम्म लाभांश दिएको थियो ।

२ वर्षअघि नेपाल बंगलादेश बैंकलाई गाभेर चुक्ता पूँजीका आधारमा तेस्रो ठूलो बैंक बनेपछि नबिलको लाभांश क्षमतामा उच्च गिरावट आएको हो । चुक्ता पूँजीको अनुपातमा नाफा बढाउन नसक्दा बैंकका लाभांश क्षमता ह्वात्तै घटेको हो । जसकारण विगतमा बम्पर लाभांश दिँदै आएको नबिलले यस वर्ष अन्य बैंककोभन्दा पनि कम लाभांश दिएको छ । हाल नबिलको चुक्ता पूँजी २७ अर्ब ५ करोड रुपैयाँ छ । लाभांश कम दिए पनि समग्रमा नबिल बैंक वाणिज्य बैंकहरुमा अधिकांश सूचकमा शीर्ष स्थानमै रहन सफल छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १९ वाणिज्य बैंकमध्ये सबैभन्दा महँगो सेयर मूल्य हुने बैंकका रुपमा रहेको नबिल हिजोदेखि दोस्रोमा झरेको छ । नबिललाई सेयर मूल्यमा स्ट्याण्डर्ड चार्टर्डले उछिनेको हो । सबैभन्दा महँगो बैंक चार्टर्डको अन्तिम कारोबार सेयर मूल्य ५२४ रुपैयाँ छ ।

झापामा फल्यो ८१ प्रजातिको रैथाने धान, जुम्लामा फल्ने मार्सीदेखि इलाममा पाइने दूधराजसम्म Read Previous

झापामा फल्यो ८१ प्रजातिको रैथाने धान, जुम्लामा फल्ने मार्सीदेखि इलाममा पाइने दूधराजसम्म

एसियाली विकास बैंकसँग सवा १३ अर्बको ऋण सम्झौता Read Next

एसियाली विकास बैंकसँग सवा १३ अर्बको ऋण सम्झौता