महाकाली करिडोरको ट्रयाक खोल्न रुख बन्यो तगारो

महेन्द्रनगर । कञ्चनपुरदेखि दार्चुलाको उत्तरी नाकासम्म जोड्ने महाकाली करिडोरअन्तर्गत रूख कटानको आदेश नआउँदा समस्या भएको छ ।

योजनाअन्तर्गत ‘ट्र्याक’ खोल्नअघि रूख कटानको आदेश आउनुपर्ने भए पनि करिडोरको एउटा प्योजकको कटान आदेश अझै आइसकेको छैन । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको उत्तरी नाका तिङ्कर भञ्ज्याङसम्म ४१३ किलोमिटर सडक करिडोरअन्तर्गत १३ वर्षदेखि निर्माणाधीन छ ।

पछिल्लो समय नेपाल–भारत र चीनसितको त्रिदेशीय नाकाका रुपमा विकास गर्ने योजनासहित अघि सारिएको करिडोरअन्तर्गत डडेल्धुरामा ३१ किलोमिटर खण्डमा पर्ने ६ हजार ९४ रूख कटानको आदेश नआउँदा ट्र्याक खोल्न ढिलाइ भएको छ ।

सडक आयोजनाअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोडबुढा क्षेत्रको १५ किलोमिटर शून्य विन्दुमा ट्र्याक खोल्न रु ५ करोड ५० लाखका ठेक्का सम्झौता भएको थियो । सो प्याकेजको ट्र्याक खोल्ने काम सकिएको छ ।

महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाका प्रमुख लक्ष्मणदत्त जोशीले ब्रह्मदेवदेखि डडेल्धुराको ३८ किलोमिटरसम्म सडकको ट्र्याक खोलिएको जानकारी दिए । ‘करिडोरअन्तर्गत चारवटै जिल्लामा गरेर १९ हजार ६६ वटा रूख/पोल पर्छन्,’ प्रमुख जोशीले भने, ‘डडेल्धुरामा ३८ देखि ६९ किलोमिटरमा पर्ने ३१ किलोमिटरमा पर्ने रूख कटानको आदेश आइसकेको छैन ।’

लामो समय रूख कटानको आदेश नआउँदा करिडोरको ट्र्याक खुलाउने काम प्रभावित थियो । ‘३१ किलोमिटर खण्डमा ६ हजार ९४ रूख कटान बाँकी छ,’ उनले भने, ‘पूरै गरेर एक सय किलोमिटर ट्र्याक खुलाउने काम अझै बाँकी छ ।’

करिडोरअन्तर्गत ३३४ योजना कार्यालय र ७९ किलोमिटर खण्ड ट्र्याक खुलाउने कामको जिम्मेवारी नेपाली सेनाले निर्वाह गरिरहेको छ । गत आर्थिक वर्षको तुलनामा बजेटसमेत घटेर आएकाले निर्माण गरेबापतको रकम दिन लगायतको काममा प्रभावित हुने अवस्था रहेको छ ।

चालु आर्थिक वर्षमा आयोजनालाई काम गर्नका लागि रु २९ करोड ६ लाख मात्रै बजेट विनियोजन भएको छ । गत आर्थिक वर्षमा भने रु ४० करोड बजेट आएको जोशीको भनाइ छ । उनका अनुसार करिडोरअन्तर्गत अहिले पाँचवटा प्याकेजमा ट्र्याक खुलाउने काम भइरहेको छ । करिडोरअन्तर्गत डडेल्धुरामा १० हजार ४७६, बैतडीमा ४ हजार ५९६ र दार्चुलामा २ हजार ४३ रूख कटान पर्छन् ।

कात्तिकमा यस वर्षकै कम वस्तु आयात, निर्यात पनि घट्यो Read Previous

कात्तिकमा यस वर्षकै कम वस्तु आयात, निर्यात पनि घट्यो

ऋण लिएर तिर्दिन भन्ने छुट कसैलाई छैन : अर्थमन्त्री Read Next

ऋण लिएर तिर्दिन भन्ने छुट कसैलाई छैन : अर्थमन्त्री