वित्तीय सूचकहरू सुधारोन्मुख हुँदा पनि किन लगातार घटिरहेछ सेयर बजार ?

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिपछि केही सुधारोन्मुख देखिएको पूँजी बजार पछिल्लो समय फेरि लगातार ओरालो लागिरहेको छ । नेप्से अहिले २७ महिना यताकै न्यून १८०० विन्दु हाराहारीमा घुमिरहेको छ ।

२०७८ भदौ २ गते इतिहासकै उच्च ३१९८ विन्दु चुमेको नेप्से त्यसयता घट्दो क्रममा छ । पछिल्ला केही महिना यता सेयर बजारलाई प्रभाव पार्ने सूचकहरूमा सुधार आइरहे पनि बजारले भने लय समात्न सकेको छैन ।

अहिले बैंकिङ प्रणालीमा अधिक तरलता छ । बैंकहरूसँग झन्डै ५ खर्ब लगानीयोग्य रकम छ । कात्तिक यता लगातार निक्षेपको ब्याजदर घटिरहेको छ । जसले बैंकको लागत घट्न गई बेसरेट समेत सस्तिएको छ । बेसरेट घटेसँगै कर्जाको ब्याज पनि केही घटेको छ भने आगामी दिनमा झनै घट्ने देखिन्छ ।

आर्थिक शिथिलताका कारण अन्य क्षेत्रमा कर्जाको माग बढ्न सकेको छैन । जसकारण सजहै कर्जा पाउने अवस्था छ । अर्थतन्त्रका बाह्य सूचकहरू मजबुत अवस्थामा पुगेका छन् । विदेशी मुद्रा संचिति इतिहासकै धेरै छ । रेमिट्यान्स आप्रवाह कीर्तिमानी छ । चालु खाता, शोधान्तर स्थिति बचतमा छ । राजस्व संकलन गत वर्षको तुलनामा केही सुधारोन्मुख देखिएको राष्ट्र बैंकको तथ्यांक छ ।

यस्तै, सेयर धितो कर्जामा पनि राष्ट्र बैंक केही लचक हुँदै गएको छ । क्रमशः नीतिगत कडाइहरू खुकुलो बनाउँदै लगेको छ । तर, सेयर बजार भने झन्झन् ओरालो लागिरहेको छ । बजारलाई प्रभाव पार्ने सूचकहरूमा सुधार आउँदा पनि नेप्सेले लय समात्न सकेको छैन ।

पूर्वबैंकर अनलराज भट्टराई लगानीकर्ताको हातमा पैसा नभएको र अर्थतन्त्रका आन्तरिक सूचकहरू पनि डाउन भएका कारण पूँजी बजार पनि बढ्न नसकेको बताउँछन् । ‘बजार बढ्न अर्थतन्त्रका अरू पनि प्यारामिटर बढ्नुपर्छ । लगानीकर्ताको हातमा पैसा छैन,’ उनले भने, ‘दैनिक रूपमा पूँजीको भ्यालु बढ्दै गएको छ । हेर्दा तल्लो अंकमा बजार आउँदा लगानी गर्ने यो ठीक समय हो भन्ने गरिन्छ तर पूँजी हुँदैन ।’

कतिपय नीतिगत व्यवस्था र लगानीको मनोबलले पनि फरक पारेको उनले बताए । अहिले अन्य क्षेत्रमा समेत आर्थिक गतिविधि बढ्न नसकेको र अब नियामक निकायले नीतिगत पुनर्विचार गरेर जानुपर्ने उनको भनाइ छ ।

सेयर लगानीकर्ता छोटेलाल रौनियार लगानीकर्ताहरू अहिले लगानी गर्न डराइरहेको बताउँछन् । ‘पूँजी बजार सुध्रिनुपर्ने हो । दुई वर्षदेखि ३२०० बाट घटेर १८०० विन्दुमा नेप्से परिसूचक घुमिरहेको छ,’ उनले भने, ‘लगानीकर्ता डराइरहेका छन् । एकातिर बजार घट्ने डर छ भने अर्कोतिर राष्ट्र बैंकले फेरि नीतिगत डन्डा चलाउँछ कि भन्ने डर छ ।’

विभिन्न राजनीतिक गतिविधि र मौद्रिक नीतिको समीक्षा लगायतका कारण अझै केही समय बजारमा उही अवस्थामा रहने उनको धारणा छ । बजारलाई आम मनोविज्ञानले समेत प्रभाव पार्ने गरेको तर, अब कुनै न कुनै दिन पिकअप लिने उनले बताए ।

नेपाल राष्ट्र बैंक आगामी साता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारीमा छ । त्यसबाट बजारलाई केही सहयोग पुग्ने नीतिगत लचकता अपनाइने लगानीकर्ताको विश्वास छ । पछिल्ला दुई वर्षयता अर्थतन्त्रमा शिथिलता देखिँदै गएपछि नेपाल राष्ट्र बैंकले नीतिगत कडाइ हटाउँदै लगेको छ ।

सेयर धितो कर्जामा २५ लाखसम्मको जोखिमभार १०० प्रतिशत रहेकोमा यो वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यसको सीमा बढाएर ५० लाखसम्म पुर्याएको थियो । योभन्दा माथिको जोखिमभार भने १५० प्रतिशत रहेकोमा कायमै छ ।

यसैगरी, गत असोजमा सेयर धितो कर्जाको सीमा बढाएर व्यक्तिको हकमा १५ करोड र संस्थाको हकमा २० करोड रुपैयाँ पुर्याएको छ । यसअघि लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट अधिकतम १२ करोड सेयर धितो कर्जा पाउने व्यवस्था थियो ।

राष्ट्र बैंकले आव २०७८/७९ मा सेयर धितो कर्जामा ४ र १२ करोडको सीमा र जोखिमभार शतप्रतिशतबाट बढाएर १५० प्रतिशत कायम गरेको थियो । यसअनुसार लगानीकर्ताले सेयर धितो शिर्षकमा एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँभन्दा बढी ऋण लिन पाएका थिएनन् ।

लगानीकर्ता रौनियारले राष्ट्र बैंकको नीतिका कारण पूँजीबजार अहिलेको अवस्थामा आएको बताए । सेयर धितो कर्जाको ऋणले खासै केही फरक पारेको देखिएन् । बजार ३२ सयको विन्दुमा पुग्दा समेत सवा खर्बभन्दा ऋण बढी गएको थिएन । अहिले पनि ८० अर्बभन्दा बढी छैन,’ उनले भने ।

बजार अनुकूल सूचक

अहिले सेयर बजारलाई सकारात्मक प्रभाव पार्ने वित्तीय सूचकहरू छन् । बैंकिङ प्रणालीमा अनुकूलता देखिँदा बजार बढ्ने र प्रतिकूलता देखिँदा घट्ने गरेको विगत छ ।

प्रणालीमा हुने लगानीयोग्य रकम र सेयर बजार बीच सकारात्मक सम्बन्ध देखिन्छ भने ब्याजदर र सेयर बजार बीच उल्टो सम्बन्ध रहेको तथ्यांकले देखाउँछ । ब्याजदर घट्दा बजार बढ्ने र बढ्दा घट्ने गरेको छ । चालु वर्षको सुरूदेखि यी सूचकहरूले बजारलाई फेभर गरिरहेका छन् ।

बैंकको ब्याजदर निरन्तर घट्दो क्रममा छ भने कर्जाको माग नहुँदा लगानीयोग्य रकम ५ खर्ब रुपैयाँ माथि छ । बैंकको आधारदर ९ प्रतिशतमा झर्दा एक प्रतिशत प्रिमियम थपेरै ऋण दिइरहेका छन् । तर, यसको बजारमा सकारात्मक प्रभाव देखिन नसकिएको सेयर विश्लेषकहरू बताउँछन् ।

भट्टराई बैंकहरूले निक्षेपको ब्याजदर घटाए पनि कर्जाको ब्याजमा त्यसको असर नदेखिएको बताउँछन् । ‘बैंकहरूले निक्षेपको ब्याजदर घटाउन थालेका छन् । तर, कर्जाको ब्याज घटेको छैन,’ उनले भने, ‘मुद्दती निक्षेपको हिस्सा धेरै हुँदा बैंकको लगात बढेको छ । यसकारण आधादर घटेको छैन । कर्जाको ब्याजदर घट्न आधादर ८ प्रतिशतसम्म आउनुपर्छ ।’

बढ्दै मार्जिन कर्जा

सेयर बजारले गति लिन नसके पनि पछिल्लो समय मार्जिन प्रकृतिको (सेयर धितो)कर्जा बढ्दै गएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ३ महिना ९साउन–असोज०मा झन्डै ५ अर्ब सेयर कर्जा लगानी भएको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाले ४ अर्ब ८७ करोड मार्जिन प्रकृतिको सेयर धितो कर्जा लगानी गरेका हुन् ।

चालु आवको पहिलो त्रैमासमा सेयर धितो कर्जा ६.३८ प्रतिशतले बढेको छ । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल ७६ अर्ब ३० रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेकोमा असोज मसान्त आइपुग्दा बढेर ८१ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकले सेयर धितो कर्जामा केही लचकता अपनाएपछि सेयर धितो कर्जा बढ्दै गएको तथ्यांकले देखाउँछ ।

बजारको ओरालो यात्रा जारी

नेप्से परिसूचक अहिले २७ महिना यताकै तल्लो बिन्दुमा आएको छ । २ भदौ २०७८ मा इतिहासकै सर्वाधिक विन्दु ३ हजार १९८ अंक पुगेको नेप्से परिसूचक अहिले १ हजार ८०० हाराहारीमा छ । यस अवधिमा नेप्से परिसूचक करिब १ हजार ४ सय अंकले घटेको छ । २ वर्षको अवधिमा नेप्से परिसूचक ५ पटक १८०० विन्दु हाराहारीमा आइसकेको छ ।

नेप्से उच्च विन्दुमा पुग्दा कुल बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब रुपैयाँ थियो । अहिले २८ खर्ब रुपैयाँ छ । यो अवधिमा लगानीकर्ताको सम्पत्तिको मूल्य करिब १७ खर्ब रुपैयाँ बढीले घटेको छ । यो बीचमा दर्जनौं नयाँ कम्पनी पूँजी बजारमा थपिएका छन् । ती कम्पनीको पनि बजार मूल्य र सेयर जोड्दा अझै धेरै लगानीकर्ताले गुमाएको उनीहरू बताउँछन् ।

बजार घट्दा त्यसवापत सरकारले प्राप्त गर्ने राजस्व समेत अर्बौ रुपैयाँले गुमेको छ । ‘गभर्नर र सरकारमा आउनेहरूको राजनीतिमा लगानीकर्ता पर्दा खबौं रुपैयाँ गुम्यो,’ रौनियारले भने, ‘बैंकहरूले अझै निक्षेपको मात्रै ब्याजदर घटाएका छन् । त्यसको असर कर्जाको ब्याजदरमा परेको छैन । कर्जाको ब्याज सस्तो भएपछि मात्रै लगानी बढ्छ । यतातिर राष्ट्र बैंकको ध्यान गएको छैन ।’

 

अर्थतन्त्र सुधार्न कर्जा भुक्तानीमा सहजीकरण र बैंकदर पुनरावलोक गरिने, यस्ता छन् सरकारका निर्णय Read Previous

अर्थतन्त्र सुधार्न कर्जा भुक्तानीमा सहजीकरण र बैंकदर पुनरावलोक गरिने, यस्ता छन् सरकारका निर्णय

सबै जलविद्युत् आयोजनाको पीपीए खोल्न इप्पानको माग Read Next

सबै जलविद्युत् आयोजनाको पीपीए खोल्न इप्पानको माग