काठमाडौं । ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन स् सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस आजदेखि सप्ताहव्यापी रुपमा मनाइने भएको छ ।
आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयमा एक सातासम्म करदाता शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रम गर्ने र मङ्सिर ७ गते उत्कृष्ट करदातालाई सम्मानित गरिने जनाइएको छ ।
विभागअन्तर्गत एउटा ठूला करदाता कार्यालय, एउटा मध्यमस्तरीय करदाता कार्यालय, ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता सेवा कार्यालय गरी कुल ८४ वटा कार्यालय सञ्चालनमा रहेका छन् ।
विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० सम्ममा व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिएका करदाताको सङ्ख्या ५५ लाख २५ हजार ९१९ रहेको छ । जसमध्ये व्यावसायिक स्थायी लेखा नम्बर (बी-प्यान) लिएका करदाताको सङ्ख्या १८ लाख ७६ हजार ३०५ र व्यक्तिगत स्थायी लेखा नम्बर (पी-प्यान) लिने करदाताको सङ्ख्या ३६ लाख ४९ हजार ६१४ रहेको छ ।
गत आर्थिक वर्ष २०७९/८० मा सरकारले कुल रु ९ खर्ब ५७ अर्ब बराबर राजस्व असुली गरेकोमा आन्तरिक राजस्व विभागबाट उठेको राजस्व मात्र रु ४ खर्ब ७९ अर्ब बराबर थियो । जुन सरकारको कुल वार्षिक राजस्व असुलीको ५०.१२ प्रतिशत बराबर हो । गत आव सरकारले विभागलाई रु ६ खर्ब २६ अर्ब ६१ करोड बराबर राजस्व असुलीको लक्ष्य दिएकोमा लक्ष्यको ७६.५७ प्रतिशत अर्थात् रु ४ खर्ब ७९ अर्ब ७९ करोड बराबर राजस्व उठेको विभागले जनाएको छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा आन्तरिक राजस्वको योगदान करिब २० प्रतिशत रहेको छ ।
आन्तरिक राजस्वको शीर्षकगत असुलीको प्रतिशत हेर्दा सबैभन्दा बढी योगदान आयकरको रहेको छ । कुल आन्तरिक राजस्वमा आयकरको हिस्सा ४४.५२ प्रतिशत छ । मूल्य अभिवृद्धि कर (भ्याट)को योगदान २४.५० र अन्तःशुल्कको योगदान २१.६७ प्रतिशत रहेको छ । त्यस्तै, ब्याजदरको योगदान ६.६७ प्रतिशत, घरबहाल करको योगदान ०.६४ प्रतिशत, स्वास्थ्य सेवा शूल्कको अंश १.४१ प्रतिशत र शिक्षा सेवा शूल्कको अंश ०.४२ प्रतिशत रहेको छ ।
गत आवमा कार्यालयगत राजस्व सङ्कलनको अवस्था हेर्दा ठूला करदाता कार्यालयको ३९ प्रतिशत देखिन्छ भने मध्यमस्तरीय करदाता कार्यालयको ४ प्रतिशत रहेको छ । त्यस्तै, आन्तरिक राजस्व कार्यालयको ५३ प्रतिशत र करदाता सेवा कार्यालयको ४ प्रतिशत रहेको विभागले जनाएको छ ।