काठमाडौं । चक्रपथ विस्तार अन्तर्गत दोस्रोखण्ड (कलंकी–नारायणगोपाल चोक) ८.२ किलोमिटर सडकको विस्तृत अध्ययनसहित डिजाइनको काम सुरू भएको हो ।
चीन सरकारले बनाइ दिने उक्त सडकखण्डको साइट क्लियरेन्स लगभग सकिएपछि चिनियाँ पक्षले विस्तृत अध्ययनसहित सडकको डिजाइन सुरू गरेको हो ।
चक्रपथ पहिलो खण्डमा देखिएको समस्या दोस्रो खण्डमा नदोहोरियोस् भनेर चीन सरकारले निर्माण सुरू गर्नु पहिले नै निर्माणस्थल खाली गर्न नेपाल सरकारलाई भनेको थियो । नेपालको तर्फबाट साइट क्लियरेन्स सकाएपछि चीनले एकैसाध विस्तृत अध्ययन र डिजाइन थालेको हो ।
सडक विभागका प्रवक्ता रामहरी पोखरेलले हाल चिनियाँ टोलीले चीनबौ उक्त सडकको विस्तृत अध्ययन र डिजाइनको काम सुरू गरेको जानकारी दिए । उनका अनुसार अझै चिनियाँ टोली नेपाल नआए पनि साइट क्लियर भएको जानकारीपछि काम थालेको उनले बताए ।
‘चिनियाँ टोलीले विस्तृत अध्ययनसहित डिजाइनको काम सुरू गर्यौं भनेको छ, चाँडै नेपाल पनि आउने कुरा रहेको छ, हामीले सहमतिपत्र पठाएपछि उनीहरू चाँडै आउने भनेका छन्,’ पोखरेलले भने ।
चक्रपथ सडकको सीमा चौडा ६२ मिटर कायम गरिएको छ । स्वयम्भूको चैत्य भने नभत्काउन सहमति भइसककेको छ । यसअघि कलंकीदेखि–धोबी खोलासम्मको ११.६ किलोमिटर विस्तार गर्ने योजना रहेको थियो । हाल कलंकीदेखि नारायणगोपाल चोकसम्म ८.२ किलोमिटर सडक विस्तार गर्ने भएको हो । बाँकी क्षेत्र तेस्रो खण्डमा निर्माण गर्ने योजना रहेको चक्रपथ विस्तार आयोजनाले जनाएको छ ।
चीनको हेनान प्रोभेन्सियल कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीको प्राविधिक टोली मंसिर २०७८ मा साइट भिजिट गर्न नेपाल आएको थियो ।
यो सडक चीन सरकारको अनुदानमा बनिरहेको छ । यसअघि चक्रपथ पहिलो खण्ड (कोटेश्वर–कलंकी १०.३९ किमि) ८ लेनमा विस्तार भइसकेको छ । पहिलो खण्ड गलत डिजाइनमा बनाइएको, सहरी सडकभन्दा पनि एक्सप्रेस हाइवे बनाइएको र ढिलो काम भएको भन्दै आलोचना भएको थियो ।
दोस्रो चरणमा विस्तारका लागि साइट संरचना हटाउने क्रम सबै सकिसकेको सडक विभागले जनाएको छ । केही भएका पोलहरू संरचना भित्रै राख्ने गरी सहमति भएको जनाइएको छ ।
निर्माण सुरू भएको ३ वर्षमा विस्तार सम्पन्न हुने अनुमान गरिएको छ । कोभिड– १९ को संक्रमणका कारण देखाउँदै ४ वर्ष पर धकेलिएको चक्रपथ सडक विस्तार चिनियाँ प्राविधिक टोली आएपछि चाँडै सुरू हुने आयोजनाले जनाएको छ ।