धनगढी-दिपायल द्रुतमार्ग कालोपत्र गरिँदै

सांकेतिक तस्वीर

कैलाली । धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र गर्ने काम अघि बढेको छ । सडक कालोपत्रका लागि धनगढी–स्याउले सडकखण्डमा पानी पिचको काम सुरु भएको सडक योजना कार्यालयले जनाएको छ ।

उक्त सडक कालोपत्र गर्न पानी पिचको काम भइरहेको जनाउँदै गत आर्थिक वर्षमा बजेट अभावका कारण काम अलपत्र परेको कार्यालयका प्रमुख लक्ष्मण रावलले बताए। उनका अनुसार उक्त द्रुतमार्गअन्तर्गत २३ किलोमिटर सडक कालोपत्र गर्नका लागि विसं २०७८ वैशाखमा ठेक्का सम्झौता भएको थियो ।

धनगढी–स्याउले सडक खण्डको १३.४ किलोमिटर र दीपायल–बाजमोर्ड खण्डको ९.६ किलोमिटर सडक कालोपत्रका लागि सम्झौता भएको रावलले बताए। कैलालीमा थप साढे ६ किलोमिटर र डोटीमा १५ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको योजना कार्यालयले जनाएको छ । चार खण्डमा सडक कालोपत्रको काम भइरहेको उनले जानकारी दिए ।

‘डोटीमा छ किलोमिटर कालोपत्र गरिएको छ । डोटीको बाँकी क्षेत्र र कैलाली खण्डमा कालोपत्रको काम अघि बढेको छ,’ योजना प्रमुख रावलले भने, ‘हालसम्म करिब ७० प्रतिशत काम पूरा भएको छ ।’

विसं २०७८ मा ठेक्का सम्झौता गरिए पनि बजेट अभावका कारण सडक निर्माण अलपत्र परेको जनाउँदै रावलले चालु आवमा सङ्घीय सरकारले रू २५ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो । विसं २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको औपचारिक रुपमा सर्भे गरी ट्र्याक खोल्न थालिएको थियो । रासस

नेप्सेमा लगातार चौथो दिन गिरावट, परिसूचक १८०० विन्दु नजिक Read Previous

नेप्सेमा लगातार चौथो दिन गिरावट, परिसूचक १८०० विन्दु नजिक

भूकम्प प्रभावितका लागि सीबीफीनले १० लाख सहयोग गर्ने Read Next

भूकम्प प्रभावितका लागि सीबीफीनले १० लाख सहयोग गर्ने