काठमाडौं । सेयर धितो कर्जा बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो एक महिनामा बैंक तथा वित्तीय संस्थाले सवा अर्ब रुपैयाँ सेयर धितो कर्जा लगानी गरेका हुन् ।
बैंक तथा वित्तीय संस्थाले भदौमा १ अर्ब २७ करोड रुपैयाँले सेयर धितो कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको साउन मसान्तसम्म मार्जिन प्रकृतिको कर्जा लगानी ७६ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा भदौमा बढेर ७७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । जबकि, राष्ट्र बैंकले कडाइ गर्दा पछिल्लो साढे २ वर्षमै सेयरधितो कर्जा ३० अर्ब रुपैयाँले घटेको थियो ।
सेयर धितो कर्जामा राष्ट्र बैंकले नीतिगत कडाइ खुकुलो बनाएसँगै लगानीकर्ताले ऋणको माग गर्न थालेको बैंकरहरू बताउँछन् । पछिल्लो समय राष्ट्र बैंकले धितो कर्जामा लगाएको नीतिगत अंकुश केही खुकुलो बनाउँदै लगेको छ । चालु आवको मौद्रिक नीतिमार्फत ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशतमा झारेको थियो । त्यसअघि २५ लाखसम्मको जोखिमभार १०० प्रतिशत र सोभन्दा माथिको १५० प्रतिशत थियो । त्यसको असर मार्जिन प्रकृतिको कर्जामा देखिन थालेको छ ।
कर्जाको माग वृद्धि नभएपछि राष्ट्र बैंकले गरेको नीतिगत कडाइ हटाउँदै लगेको छ । असोजमा पनि सेयर धितो कर्जाको सीमा बढाएको थियो ।राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा बढाएर व्यक्तिको हकमा १५ करोड र संस्थाको हकमा २० करोड रुपैयाँ पुर्याएको छ । यद्यपि, यसको असर भने आगामी महिनापछि देखिनेछ । त्यसअघि लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट अधिकतम १२ करोड सेयर धितो कर्जा पाउने व्यवस्था थियो ।
राष्ट्र बैंकले आव २०७८÷७९ मा सेयर धितो कर्जामा ४ र १२ करोडको सीमा र जोखिमभार शतप्रतिशतबाट बढाएर १५० प्रतिशत कायम गरेको थियो । यो व्यवस्था अनुसार सेयर धितो शीर्षकमा एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँभन्दा बढी ऋण लिन लगानीकर्ताले पाएनन् ।
यही नीतिगत कारण सेयर बजार माथि उठ्न नसकेको लगानीकर्ताहरूले बताउँदै आएका छन् । यद्यपि, अनुकुल नीति हुँदा पनि सेयर बजार ओराला लाग्ने क्रम भने रोकिएको छैन ।
गत वर्षदेखि घट्दो क्रममा रहेको सेयर धितो कर्जा चालु वर्षको पहिलो महिनामा १२ करोड रुपैयाँले घटेको थियो । भदौयता भने बजार अनुकूल आर्थिक सूचक र खुकुलो नीगित व्यवस्थाले बढ्दै गएको तथ्यांकले देखाउँछ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले भदौपछि आक्रामक कर्जा लगानी गरेका छन् । भदौ महिनामा मात्रै संस्थाहरूले कुल कर्जा लगानी ४९ अर्ब रुपैयाँले बढाएका थिए । वित्तीय प्रणालीमा पर्याप्त तरलता हुँदा पनि ऋण लगानीमा गरेको कडाइका कारण कर्जाको माग बढ्न नसकेको बैंकरहरू बताउँछन् । पछिल्लो समय भने सवारी, सेयर धितो, घरजग्गा लगायत क्षेत्रमा माग बढेको उनीहरूको भनाइ छ ।
अनुकूल नीति भए पनि लगानीकर्ताको मनोबल बढ्न नसक्दा बजारमा भने त्यसको सकारात्मक असर नदेखिएको सेयर विश्लेषकहरू बताउँछन् । सेयर धितो कर्जाको माग बढे पनि बजार भने १८५० विन्दु हाराहारीमा छ । अहिले पनि राष्ट्र बैंकले सेयर धितो कर्जामा केही नीगित कडाइ हटाएको छैन ।