फूलमा आत्मनिर्भर बन्दै नेपाल, मागको ८५ प्रतिशत स्वदेशी उत्पादनले धान्ने

काठमाडौं । नेपाल फूलखेतीमा आत्मनिर्भर हुँदै गएको छ । पुष्प व्यवसायमा लाग्ने किसानको संख्या र पुष्पखेती हुने जग्गाको क्षेत्रफल बढ्दै गएसँगै मुलुक फूलमा आत्मनिर्भर हुँदै गएको हो ।

खाद्यबालीको तुलनामा फूलखेतीबाट फाइदा हुने भएपछि किसानहरु यसतर्फ आकर्षित हुन थालेका हुन् । पछिल्लो ५ वर्षमै फूलखेती हुने जमिनको क्षेत्रफल साढे ४४ प्रतिशतले बढेको छ ।

नेपाल फ्लोरिकल्चर एशोसिएसनका अनुसार हाल नेपालको २२१ हेक्टर क्षेत्रफलमा व्यावसायिक पुष्पखेती हुँदै आएको छ । २ हजार बढी कृषक व्यवसायिक फूलखेतीमा संलग्न छन् । जबकी २०७४ मा मुलुकभर १५३ हेक्टर जमिनमा व्यावसायिक फूलखेती हुन्थ्यो । सो समयमा ७०० हाराहारीमा कृषकहरू फूलखेतीमा आबद्ध थिए ।

नेपालमै व्यावसायिक फूलखेती हुन थालेपछि परनिर्भरता समेत घट्दै गएको छ । विगतमा मागको आधा बढी फूल आयातमा निर्भर रहेकोमा अहिले मागको झन्डै ८५ प्रतिशत स्वदेशीस् उत्पादनले धान्ने एशोसिएसनले जनाएको छ ।

एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङ देश फूलमा आत्मर्निभर हुँदै गएको बताउँछन् । उनले यस वर्ष फूलको मागको ८० प्रतिशत हिस्सा भने नेपाली फूलको उत्पादनले नै धान्ने बताए ।

‘फूल खेतीमा लाग्नेहरूको उत्साह छ, झण्डै देशमा आवश्यक पर्ने ८०-८५ प्रतिशत फूल हामी आफ्नै उत्पादनबाट धान्न सक्छौँ,’ अध्यक्ष तामाङले भने ।

यो वर्ष तिहारमा ४० लाख थान फूलका मालाको खपत हुने अनुमान गरिएको छ । यो तिहारमा देशभर ३५ लाख सयपत्री फूलको माला, ४ लाख ५० हजार थान मखमली फूलको माला, २० हजार गोदावरी फूलको माला र ३० हजार हाराहारी मिक्स फूलको माला खपत हुने नेपाल उनले बताए ।

उनले सयपत्री, मखमली र गोदावरी फूलमा देश आत्मनिर्भरतर्फ प्रवेश गरिसकेको बताए । नेपालमा ४२० प्रजातिका फूल उत्पादन भइरहेका छन् । हरेक वर्ष १० देखि १५ प्रतिशतका दर फूल तथा पुष्पजन्य उत्पादनको माग बढ्ने गरेको उनले बताए ।

काठमाडौं उपत्यकाबाट सुरू भएको व्यावसायिक फूल खेती धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, सुनसरी, झापा, कपिलवस्तुलगायत देशभर ४८ जिल्लामा पुष्पखेती हुन्छ ।

गत आर्थिक वर्ष २०७९/८० मा करिब ३ अर्ब रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो । सो आवमा ६८ करोड १८ लाख रुपैयाँ बराबरको फूल निर्यात भएको थियो । यस्तै, सो आवमा ३३ करोड रुपैयाँ बराबरको फूल आयात गरेको भन्सार विभागले जनाएको छ । चालु आर्थिक वर्षको असोज महिनासम्ममा ६ करोड ७१ हजार रुपैयाँ बराबरको फूलहरू आयात भएको तथ्यांकले देखाएको छ ।

 

नेपालको ऊर्जा र पर्यटन पूर्वाधारमा लगानी गर्न बेलायतीलाई अध्यक्ष ढकालको आग्रह Read Previous

नेपालको ऊर्जा र पर्यटन पूर्वाधारमा लगानी गर्न बेलायतीलाई अध्यक्ष ढकालको आग्रह

कर प्रणाली सुधारका लागि सुझाव माग Read Next

कर प्रणाली सुधारका लागि सुझाव माग