काठमाडौं । पर्यटकीय सिजन सुरू भएसँगै विदेशी पर्यटकको आवगमनमा नयाँ रेकर्ड बनेको छ । पछिल्लो एक महिनामै १ लाख १७ हजार बढी पर्यटक नेपाल घुम्न आएसँगै हालसम्मकै धेरै पर्यटक आवगमनको रेकर्ड बनेको हो ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को अक्टोबर महिनामा हवाईमार्ग हुँदै १ लाख १७ हजार ३०६ जना विदेशी पर्यटक नेपाल घुम्न आएका छन् । यो नेपाली पर्यटन इतिहासमा कुनै पनि एक महिनामा आएको सबैभन्दा धेरै हो ।
यसअघि कोभिड अगाडि सन् २०१९ को अक्टोबरमा सबैभन्दा बढी पर्यटक १ लाख १३ हजार ८१६ पर्यटक नेपाल भ्रमणमा आएका थिए । काेभिडका कारण सन् २०२१ सम्म न्यून रहेको पर्यटक आवगमन सन् २०२२ देखि क्रमशः लयमा फर्किँदै गएको छ । सन् २०२३ मा भने पर्यटक आवगमन कोभिड अघिकै अवस्थामा पुगेको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार सन् २०२३ को १० महिना (अक्टोबरसम्म) कुल ८ लाख ९ हजार ७८६ पर्यटक नेपाल भित्रिएका छन् । यस वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य सहजै हासिल हुने देखिएको बोर्डको भनाइ छ ।
पर्यटक आवगमन बढेसँगै पर्यटन व्यवसाय चलायमान भएको छ । होटल, ट्रेकिङ लगायत व्यवसाय कोभिय अघिकै अवस्थामा फर्किएका छन् । यस्तै, विदेशी पर्यटक बढ्दा विदेशी मुद्रा संचितिमा समेत सहयोग पुग्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
कुन महिना कति पर्यटक आए ?
बोर्डका अनुसार सन् २०२३ को अक्टोबरमा सबैभन्दा धेरै १ लाख १७ हजार ३०६ विदेशी नेपाल घुम्न आएका छन् । त्यस्तै, सेम्टेम्बरमा ९२ हजार ६०४, अगस्टमा ६७ हजार १५३, जुलाइमा ५६ हजार ७२३ विदेशी नेपाल भ्रमणमा आएका थिए ।
त्यसैगरी, जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २४४, मार्चमा ९९ हजार ४२६, अप्रिलमा ९८ हजार ७७३, मेमा ७७ हजार ७०३ र जुनमा ७२ हजार २५० जना विदेशी पर्यटक नेपाल आएको बोर्डको तथ्यांक छ ।
भारतीय र अमेरिकी पर्यटक धेरै
अक्टोबरमा नेपाल भ्रमणमा आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय र अमेरिकी रहेको छन् । यस महिना सबैभन्दा धेरै १८ हजार ४८० भारतीय पर्यटक रहेको छन् ।
त्यसैगरी दोस्रोमा १४ हजार ८७९ जना अमेरिकी पर्यटक नेपाल घुम्न आएका छन् भने तेस्रोमा बेलायतबाट ८ हजार २१७ जना पर्यटक नेपाल भ्रमणको बोर्डको तथ्यांक छ ।
चौथोमा चीनबाट ६ हजार ८८० जना, पाँचौंमा अष्ट्रेलियाबाट ६ हजार ७५, छैटौंमा जर्मनीबाट ५ हजार ९१६ जना, सातौंमा फ्रान्सबाट ५ हजार २७१, आठौंमा बंगलादेशबाट ४ हजार २९२ पर्यटक नेपाल आएका छन् ।