मोरङ र सुनसरी औद्योगिक करिडोरमा भरपर्दो बिजुली उपलब्ध गराउँदै प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लाका औद्योगिक करिडोरमा यस वर्ष भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि अधिकतम प्रयास गरिरहेको छ ।

प्राधिकरणले त्यस क्षेत्रका औद्योगिक र अन्य ग्राहकलाई भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरणतर्फका चालु लाइन सुधार गर्ने, नयाँ लाइन बनाउने, सबस्टेसनको क्षमता स्तारोन्नत्ति गर्ने र नयाँ सबस्टेसन निर्माणलाई योजनाबद्धरुपमा अगाडि बढाएको हो ।

मोरङ र सुनसरीका उद्योगीहरुले गर्मीयाममा उद्योगहरुमा पटक–पटक लाइन जाने र आउने (ट्रिपिङ) हुने गरेको गुनासो गर्दै आएकाले प्राधिकरणले त्यहाँको औद्योगिक करिडोरमा विद्युत् आपूर्तिका लागि सुनसरीको दुहवीस्थित १३२ केभी ग्रिड सबस्टेसनको भार (लोड) घटाउने पुरानो लाइनको सुधार र थप लाइनको सबस्टेसन निर्माण गरिरहेको छ ।

केहीअघि सञ्चालनमा आएको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित चार सय केभी क्षमताको इनरुवा सबस्टेसनबाट विद्युत् आपूर्ति दिनका लागि प्रसारण तथा वितरणतर्फका लाइन र सबस्टेसन निर्माणाधीन छन् । इनरुवा ४००, २२०, १३२ र ३३ केभी प्रणालीमा आधारित सबस्टेसन भएकाले त्यहाँबाट स्थानीय रुपमा विद्युत् आपूर्ति गर्न सकिने छ । यसले गर्दा दुहबी सबस्टेसनमा हाल रहेको विद्युत् आपूर्तिको भार घट्ने छ ।

अरुण तथा तमोर नदी र तिनीहरुका सहायक खोलानालामा निर्माण गरिएका/हुने जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ । ताप्लेजुङ, पाँचथर र इलाम जिल्लास्थित खोलामा उत्पादित विद्युत् काबेली करिडोर प्रसारण लाइनहुँदै झापाको दमकमा आउने छ । यसले गर्दा त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि स्रोतको अभाव छैन ।

सुनसरी र मोरङको विद्युत् आपूर्तिमा सुधार र १३२ केभीको दुहवी तथा विराटनगर क्षेत्रमा रहेका ३३÷११ केभी रानी र टङ्किसिनुवारी सबस्टेसनहरुको भार घटाउन १३२ विराटनगर सबस्टेसन निर्माणाधीन छ । सुनसरीको बर्जु गाउँपालिकामा निर्माणाधीन सबस्टेसनसम्म विद्युत् पुर्याउनका लागि इनरुवा सबस्टेसनबाट १३२ केभी प्रसारण लाइन निर्माण भइरहेको छ । ठेकेदार कम्पनी सानडोङ ताइकाई इञ्जिनीयरिङ र मुडभरी एण्ड जोशी कन्ट्रक्सनको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादनका कारण सबस्टेसन निर्माणमा ढिलाइ भइरहेको छ ।

सबस्टेसनमा रहने उपकरण राख्नका लागि अधिकांश संरचना निर्माण भइसकेका र अधिकांश उपकरण पनि निर्माणस्थलमा आपूर्ति भइसकेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केहीअघि निर्माणस्थलको अनुगमन गरी आगामी फागुनभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिए ।

आगामी फागुनभित्र निर्माण सम्पन्न गर्न नसकिए विद्युत् उपलब्ध भएर पनि आपूर्ति दिन नसकी बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्था आउसक्ने भएकाले उक्त अवधिमा आयोजनाको काम नसकिएमा ठेक्का सम्झौताबमोजिम कारबाही गर्ने चेतावनी ठेकेदारलाई दिए ।

त्यस क्षेत्रका औद्योगिक करिडोरमा रहेको विद्युत् आपूर्तिका समस्या समाधन गर्न भइरहेका कामको जानकारी दिन उद्योग सङ्गठनका अध्यक्ष राकेश सुरानालाईसमेत टोलीमा सहभागी गराइएको थियो । ‘यस वर्ष सुनसरी र मोरङमा सञ्चालित उद्योगलाई विश्वसनीय र गुणस्तरीय विद्युत् आपूर्तिका लागि अधिकतम प्रयास गरिरहेका छौँ, विकल्पहरु धेरै छन्, सञ्चालित योजना गर्मी सुरु हुनुभन्दा पहिले नै सक्नु बाध्यकारी अवस्थामा छौँं,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘यसका लागि जनशक्ति थप्नुहोस्, स्थानीय रुपमा भइरहेका अवरोध हटाउन स्थानीय तहका जनप्रतिनिधि, प्रशासन, उद्योगी व्यसायीहरुलगायतको साथ र सहयोग आवश्यक छ ।’

इनरुवा–विराटनगर २३ किलोमिटर १३२ केभी प्रसारण लाइनमा पर्ने ८० वटा टावरमध्ये ७३ वटाको जग हालिएको छ । बहत्तर वटा खडा गरिएको छ । प्रसारण लाइनको तार आपूर्ति भइसकेको छ । स्थानीयवासीको अवरोधका कारण दुई वटा र प्राविधिक समस्याले पाँच वटा टावर निर्माण हुनसकेको छैन ।

इनरुवा सबस्टेसनबाट खनारसम्म ३३ केभी डबल सर्किट लाइन निर्माण अन्तिम चरणमा छ । यो लाइन सञ्चालनमा आएपछि दुहवी सबस्टेसनको करिब ४० मेगावाट भार घटाउन सकिने छ । इनरुवाबाट पुरानो इनरुवा सबस्टेसम्म हाल रहेको ३३ केभी सर्किटको लाइनमा अर्को सर्किट निर्माणाधीन छ । यसले पनि दुहवी सबस्टेसनको भार घटाउने छ ।

इनरुवा–दुहवी १३२ केभी डबल सर्किट प्रसारण लाइनको तार फेरेर क्षमता वृद्धिको प्रक्रिया अगाडि बढाइएको छ । झापा, मोरङ र सुनसरीको विद्युत्को माग धान्न दमकबाट विराटनगर सबस्टेसनसम्म १३२ केभी प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।

करिब ६५ किलोमिटर उक्त लाइन दमकबाट मोरङको कानेपोखरी गाउँपालिकास्थित केरौन, सुनसरीको दुहवीहुँदै विराटनगर सबस्टेसनमा जोडिने छ । उक्त लाइन निर्माण भएपछि झापा, मोरङ र सुनसरीमा विद्युत् आपूर्तिका लागि १३२ केभीको रिङ बन्ने छ । जसले विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउने छ ।

चेक बाउन्स र ऋण नतिर्नेको संख्या २४% बढ्यो, ३ महिनामै १३ हजार परे कालोसूचीमा Read Previous

चेक बाउन्स र ऋण नतिर्नेको संख्या २४% बढ्यो, ३ महिनामै १३ हजार परे कालोसूचीमा

अल्पविकसित मुलुकबाट स्तरोन्नति हुन नेपाललाई राष्ट्रसङ्घले सहयोग गर्छ : महासचिव गुटेरेस Read Next

अल्पविकसित मुलुकबाट स्तरोन्नति हुन नेपाललाई राष्ट्रसङ्घले सहयोग गर्छ : महासचिव गुटेरेस