रियल सेक्टरका ९ सहित २० कम्पनीको आइपीओ आउँदै, कुनको कति कित्ता ?

काठमाडौं । पछिल्लो समय प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने कम्पनीको बाढी लागेको हो । गत वर्ष मात्रै ५० बढी कम्पनीले आइपीओ जारी गरेका थिए भने हाल झन्डै २ दर्जन कम्पनी आइपीओ प्रक्रियामा छन् ।

नेपाल धितोपत्र बोर्डका अनुसार हाल २० कम्पनीले आइपीओ निष्काशनको अनुमति माग्दै आवेदन दिएका छन् । ती कम्पनीहरूले कुल साढे १३ अर्ब रुपैयाँ बढीको सेयर जारी गर्ने भएका हुन् । अधिकांश कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधरणका लागि सेयर जारी गर्ने भएका हुन् । अब बोर्डबाट स्वीकृति पाएपछि यी कम्पनीले आइपीओले जारी गर्नेछन् ।

आइपीओ जारी गर्ने प्रक्रियामा रहेका कम्पनीमध्ये अधिकांशले अंकित मूल्य १०० रुपैयाँ दरमै सेयर जारी गर्ने भएका हुन् भने केहीले प्रिमियम जोडेर सेयर जारी गर्ने भएका छन् । बोर्डमा आवेदन दिएका मध्ये एक दर्जन हाइड्रोपावर कम्पनी रहेका छन् भने अरु रियल सेक्टर क्षेत्रका छन् ।

बोर्डका अनुसार हाल आइपीओ निष्काशनको अनुमति मागेका २० कम्पनीमध्ये १२ वटाको कागजात अनुसन्धानको क्रममा रहेको छ । त्यस्तै, दुई कम्पनीको विवरण समीक्षा गरी थप कागजात पेश गर्न भनिएको छ भने ६ वटाको कागजात समीक्षा सम्पन्न गरी अनुमतिको अन्तिम चरणमा छन् ।

रियल सेक्टरका कम्पनी आकर्षण गर्न सरकारले लिएको नीतिगत लचकता, ठूलो पूँजीका कम्पनी अनिवार्य पब्लिकमा जानुपर्ने व्यवस्था लगायत कारणले आइपीओ जारी गर्ने कम्पनीको संख्या बढ्दै गएको हो ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत रियल सेक्टरका कम्पनी बजारमा ल्याउन विभिन्न नीतिगत व्यवस्था घोषणा गरेको थियो । उक्त वर्षको बजेटमार्फत वार्षिक ५ अर्ब बढीको कारोबार गर्ने, १ अर्ब रुपैयाँ बढी चुक्ता पूँजी भएको, प्राकृतिक स्रोतहरूको उपयोग गर्ने कम्पनी र राज्यबाट अनुदान, सहुलियत तथा कर छुट प्राप्त गर्ने पब्लिक लिमिटेड कम्पनीहरूले आइपीओ निष्कासन गर्नैपर्ने बाध्यकारी व्यवस्था गरेको थियो । यस व्यवस्थापछि यी ४ शर्तमध्ये एउटा जुनसुकै शर्त पुगेका कम्म्पनीहरू अनिवार्य पूँजीबजारमा आउनु पर्ने व्यवस्थाका कारण पनि बजारमा अन्य कम्पनीहरू आउने अपेक्षा गरिएको छ ।

कुन कम्पनीको कति कित्ता आउँदै छ ?

बोर्डका अनुसार रियल सेक्टर क्षेत्रका ९ वटा कम्पनी आइपीओ ल्याउने पाइपलाइनमा छन् । जसमा डिस मिडिया नेटवर्कले १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५०० रुपैयाँ बराबरको १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता, एपेक्स हस्पिटालिटीले २४ करोड बराबरको २४ लाख कित्ता, जगदम्बा सिमेन्टले बुक बिल्डिङ विधिबाट ६ अर्ब २ करोड रुपैयाँको २ करोड ७० हजार कित्ता आइपीओ बिक्रीमा ल्याउने भएको हो ।

त्यसैगरी, एसवाइ प्यानलले ५२ करोड ३२ लाखको ५२ लाख ३२ हजार कित्ता, रिलायन्स स्पिनिङले बुक बिल्डिङबाट ७ लाख ७० हजार ६४० कित्ता (प्रतिकित्ता ६०८ देखि ९१२ रुपैयाँ), एकर्ड फार्मसेट्युकलस्ले ७ करोड ६ लाख ९० हजार ९०० रुपैयाँ बराबरको ७ लाख ६ हजार ९०९ कित्ता, ट्रेड टावरले ११ करोड ५८ लाख ९८ हजारको ११ लाख ५८ हजार ९८० कित्ता, कान्तिपुर टेलिभिजनले ७ करोड ५० लाख बराबरको साढे ७ लाख कित्ता र आइएमई लिमिटिेडले १० करोड बराबरको १० लाख कित्ता सेयर जारी गर्ने भएको हो ।

त्यस्तै, धर्मखोला हाइड्रो इनर्जीले ३९ करोड ५० लाख रुपैयाँको ३९ लाख ५० हजार कित्ता, सान्भी इनर्जीले ३८ करोड ९० लाखको ३७ लाख ९० हजा कित्ता, रिचेत जलविद्युत कम्पनीले ११ करोड ७६ लाखको ११ लाख ७६ हजार कित्ता, बेनी हाइड्रोपावरले २० करोड ८० लाखको २० लाख ८० हजार कित्ता, यामबालिङ हाइड्रोपावरले २८ करोडको २८ लाख कित्ता, माबिलुङ इनर्जीले १८ करोड ९० लाखको १८ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्ने भएको ।

त्यस्तै, सोलु हाइड्रोपावरले २ अर्बको २ करोड कित्ता, टक्सार पिखुला खोला हाइड्रोपावर ४२ करोड ३० लाखको ४२ लाख ३० हजार कित्ता, हिम स्टार ऊर्जाले ११ करोड १९ लाखको ११ लाख १९ हजार कित्ता र सानिमा हाइड्रोपावरले १४ करोड ७० लाख रुपैयाँ बराबरको १४ लाख ७० हजार कित्ता सेयर जारी गर्ने भएको हो ।

 

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा, संसदमा सम्बोधन गर्ने Read Previous

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा, संसदमा सम्बोधन गर्ने

दशैंमा लागेको ऋण तिर्न सुन खोज्न हिँडे बोटेहरू, महिनामा २०/२५ हजारको भेटिने Read Next

दशैंमा लागेको ऋण तिर्न सुन खोज्न हिँडे बोटेहरू, महिनामा २०/२५ हजारको भेटिने