हिमालयन रि-इन्स्योरेन्सले पायो प्रिमियममा आइपीओ बेच्न अनुमति, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रिमियम मूल्यमा आइपीओ जारी गर्न अनुमति दिएको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा प्रतिकित्ता १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँमा आइपीओ बिक्रीको अनुमति पाएको हो ।

कम्पनीले जारी पूँजी १० अर्बको ३० प्रतिशत बराबर ३ करोड कित्ता आइपीओ निष्काशन गर्ने भएको हो । प्रिमियममा आइपीओ जारी गर्दा कम्पनीले ६ अर्ब १८ करोड रुपैयाँ जुटाउने छ । बोर्डबाट अनुमति पाएसँगै दसैंपछि आइपीओ निष्काशन प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘केयर एनपी आइआर ए माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीमा गरिएको लगानीमा कम जोखिम रहेको संकेत गर्दछ ।

हिमालयन रि इन्स्योरेन्स निजी क्षेत्रको लगानी रहेको पुनर्बीमा कम्पनी हो । यसले नेपाल भित्र र अन्तर्राष्ट्रिय स्तरमा दुवै जीवन र निर्जीवन बीमा कम्पनीहरूको पुनर्बीमा व्यवसाय गर्दै आएको छ ।

हिमालयन रिमा नेपाका प्रमुख व्यापारिक घरानाहरु गोल्छा ग्रुप, शंकर ग्रुप, इन्फिनिटी होल्डिङ्स, लक्की ग्रुप, रमेश कर्पोरेशन, शिवशक्ति ग्रुप, हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड लिमिटेड, शालिमार इन्भेष्टमेन्ट, मुरारका ग्रुप, केएल दुगड ग्रुप, एमभी दुगड लगायतको लगानी छ ।

साथै, नेपाल सरकारको लगानी रहको नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पनि लगानी रहको छ ।

चैत् मसान्तको वित्तीय विवरण अनुसार ७ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३८ करोड ५८ लाख ३१ हजार रुपैयाँ संचित छ । त्यस्तै, बीमा कोषमा १३ करोड ६९ लाख ७८ हजार रुपैयाँ र महाविपत्ती कोषमा १ करोड ५० लाख ५९ हजार रुपैयाँ संचित रहेको छ ।

एमसीसी अन्तर्गत बन्ने प्रसारण लाइनको रि-टेन्डर अन्योलमा Read Previous

एमसीसी अन्तर्गत बन्ने प्रसारण लाइनको रि-टेन्डर अन्योलमा

सुनको मूल्यले बनायो अहिलेसम्मकै महँगोको रेकर्ड, प्रतितोला कति पुग्यो ? Read Next

सुनको मूल्यले बनायो अहिलेसम्मकै महँगोको रेकर्ड, प्रतितोला कति पुग्यो ?