सातदोबाटो र एकान्तकुना फ्लाइ ओभर निर्माणमा स्रोत अभाव, वहुवर्षीय ठेक्का लगाइँदै

सांकेतिक तस्वीर ।

काठमाडौं । ललितपुरको सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्न वहुवर्षीय ठेक्का लगाइने भएको छ । एकैपटक ठेक्का लगाउन बजेट अभाव हुने भएपछि सरकारले वहुवर्षीय ठेक्काबाट यी दुई फ्लाइओभर निर्माण गर्ने भएको हो ।

सातदोबाटो र एकान्तकुना फ्लाइओभर निर्माणका लागि बजेट पर्याप्त नभएकाले वर्षेनी ठेक्का लगाइने सडक विभागले जनाएको छ । सडक विभागका प्रवक्ता रामहरी पोखरेलले ती फ्लाइओभर निर्माणका लागि बहुवर्षीय ठेक्का लगाउने तयारी भइरहेको बताए ।

एकैपटक ठेक्का लगाउन स्रोत अभाव हुने भएपछि सडक विभागले ती फ्लाइ ओभर निर्माणका लागि बहुवर्षीय ठेक्का लगाउने तयारी गरेको उनले बताए । ‘सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर बनाउन बहुवर्षीय ठेक्का लगाउने तयारी भइरहेको छ, फ्लाइओभर निर्माणका लागि बजेट सुनिश्चित गर्न अर्थमन्त्रालयमा निवेदन पेश गरेका छौँ,’ पोखरेलले चाणक्य पोष्टसँग भने ।

सरकारले विगत लामो समयदेखि ललितपुरको सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने भने पनि अझै सुरू हुन सकेको छैन । सातदोबाटोमा बन्ने भनिएको फ्लाइओभरको डिजाइन पूरा भइसकेको छ । फ्लाइओभरको डिजाइन सम्पन्न भए पनि बजेट सुनिश्चित नहुँदा ठेक्का प्रकृया सुरू हुन नसकेको प्रवक्ता पोखरेलले बताए ।

यस्तै, एकान्तकुनामा बन्ने फ्लाइओभरको डिजाइन बन्ने क्रममा रहेको छ । बढ्दो ट्राफिक जाम र सवारी चापलाई मध्येनजर गर्दै काठमाडौं उपत्यकाका आधादर्जन बढी ठाउँमा फ्लाइ ओभर निर्माण गरिने घोषणा गरिएको छ । उपत्यकाका सातदोबाटो, एकान्तकुना, तीनकुने-कोटेश्वर, बानेश्वर, महाराजगञ्ज, चाबहिल, थापाथली लगायत स्थानमा फ्लाइओभर र अण्डरपास निर्माणको घोषणा गरिएको छ ।

तर, हालसम्म ललितपुरको ग्वार्कोमा बाहेक अन्य फ्लाइओभरको निर्माण सुरू भएको छैन । नेपालकै पहिलो फ्लाइओभरको रुपमा निर्माण थालिएको ग्वार्को फ्लाइओभर निर्माणको काम पनि सुस्त गतिमा अघि बढिरहेको छ । यसको निर्माण थालिएको ९ महिनापछि डिजाइनमै त्रुटी भेटिएपछि संशोधन गरिएको छ । यद्यपि, असोज यता कामले गति लिएको निर्माण कम्पनीले जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा ग्वार्को फ्लाइओभर सम्पन्न गर्नेसँगै एकान्तकुना, सातदोबाटो र बानेश्वरमा ‘फ्लाइओभर’, ‘अन्डरपास’ निर्माण गर्ने उल्लेख गरेको छ ।

सरकारले पहिलो पटक आर्थिक वर्ष २०६६/६७ सालको बजेट वक्तव्यमा फ्लाइओभरलाई समावेस गरिएको थियो । त्यसपछि हरेक वर्ष फ्लाइ ओभर निर्माणलाई बजेटमा राखिँदै आएको छ ।

 

९ महिनापछि पोखराको तोरीपानीबाट पुनः प्याराग्लाइडिङ उडान सुरू Read Previous

९ महिनापछि पोखराको तोरीपानीबाट पुनः प्याराग्लाइडिङ उडान सुरू

युनिलिभरले घोषणा गर्‍यो अहिलेसम्मकै धेरै लाभांश Read Next

युनिलिभरले घोषणा गर्‍यो अहिलेसम्मकै धेरै लाभांश