धरहराको अन्डर ग्राउन्डमा पार्किङ खुला, शुल्क तिर्न नपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले धरहराको भूमिगत (अन्डर ग्राउन्ड) पार्किङ खुला गरेको छ । महानगरपालिकाले दशैं, तिहार, नेपाल संवत् ११४४ तथा छठ पर्वलाई मध्येनजर गर्दै आजदेखि भूमिगत पार्किङ खुलाएको हो ।

चाडपर्वको बेला किनमेल गर्नेहरूको भीडभाड बढी हुने र पार्किङको समस्या देखिने गरेकाले आइतबारदेखि निर्माणाधीन अवस्थामै पार्किङ खुला गरिएको महानगरपालिकाले जनाएको छ ।

काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख एसपी राजु पाण्डेले चाडपर्वको समयमा न्यूरोड र सुन्धारा क्षेत्रमा किनमेल गर्नेको भीड हुने भएकाले निःशुल्क पार्किङ खुला गरिएको बताए ।

उनले हालका लागि धरहरा भित्र १ तल्लामा मात्र पार्किङ खुला गरिएको बताए । ५० हजार स्क्वायर फिटमा फैलिएको उक्त पार्किङ धरहराको पहिलो तल्लाको बेसमेन्टमा मात्र पार्किङको व्यवस्था गरेको बताए ।

‘अहिले बेसमेन्टको ३ तल्ला मध्ये पहिलो तल्लामा मात्र पार्किङ खुला गरेका छौँ, अन्यमा काम भइरहेको छ, दशैँ तिहार भरी यो सञ्चालनमा रहने छ,’ पाण्डेले चाणक्य पोष्टसँग भने ।

४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरामा तीन तले अन्डरग्राउन्ड पार्किङ बनाइएको छ । त्यहाँ एक पटकमा ३४७ वटा चारपांग्रे र ७०० बढी मोटरसाइकल पार्किङ क्षमता छ । तर, अहिले खुला गरिएको स्थानमा ३०० बढी मोटरसाइकल र १५० बढी चारपांग्रे सवारीसाधन पार्किङ गर्न सकिने उनले बताए ।

धरहरा पुननिर्माण आयोजना अन्तर्गत हालसम्म करिब ८८ प्रतिशत काम सकिएको छ । धरहरामा फिनिसिङ, रंगरोगन, विद्युत जडान तथा अन्य प्राविधिक कामहरू अझै बाँकी रहेको छ ।

 

भेडाच्याङ्ग्रा बेच्न १७ दिन हिँडेर जुम्लाबाट म्याग्दी, एउटै च्याङ्ग्राको ५५ हजारसम्म Read Previous

भेडाच्याङ्ग्रा बेच्न १७ दिन हिँडेर जुम्लाबाट म्याग्दी, एउटै च्याङ्ग्राको ५५ हजारसम्म

हरेक पसलमा अनिवार्य मूल्यसूची र बील जारी गर्ने व्यवस्था गर्न निर्देशन Read Next

हरेक पसलमा अनिवार्य मूल्यसूची र बील जारी गर्ने व्यवस्था गर्न निर्देशन