काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । आइतबार एकैदिन ३५ अंकले गिरावट आएको नेप्से आज १२ अंकले घटेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सेयर धितो कर्जामा १२ करोडको सीमा बढाएर व्यक्तिगततर्फ १५ करोड र संस्थागतका लागि २० करोड बनाएको थियो । तर, सेयर धितो कर्जाको सीमा थोरै बढाए पनि जोखिम भार १५० प्रतिशत कायमै राख्दा लगानीकर्ता आशावादी बन्न नसकेका हुन् ।
पछिल्लो समय घट्दो ट्रेन्डमा रहेको सेयर बजार उकास्न राष्ट्र बैंकको पछिल्लो नीतिले खासै प्रभाव पार्न नसकेको लगानीकर्ता बताउँछन् ।
सोमबार नेप्से परिसूचक १२.५८ अंकले घटेर १९०८.६६ विन्दुमा आइपुगेको छ । यसदिन २८७ कम्पनीको १ अर्ब १७ करोड रुपैयाँ बढीको ४३ लाख २७ हजार १७९ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये उत्पादन र व्यापार बाहेक अरु सबैको परिसूचक घटेको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १ प्रतिशतले घटेको छ ।
आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको साढे ३ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
घट्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । हिमालयन लघुवित्त र बाराही हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।