काठमाडौं । सरकारले दशैंलाई मध्येनजर गर्दै सकडको खाल्डाखुल्डी पुर्ने कामलाई तीव्र बनाएको छ । दशैंमा उपत्यका बाहिर जाने मुख्य सडकमा सवारीको चाप बढ्ने गर्छ । खाल्डाखुल्डीका कारण यात्रुलाई सास्ती हुने भएकाले त्यसलाई सहज बनाउन धमाधम पुर्न थालेको हो ।
सवारीको धेरै चाप हुने पृथ्वी राजमार्ग, पूर्वपश्चिम राजमार्ग, विपी राजमार्ग, अरनिको राजमार्ग सिद्धार्थ राजमार्ग, कोशी राजमार्ग लगायत मुख्य सडकमा धमाधम खाल्डा पुर्ने काम भइरहको सडक विभागले जनाएको छ ।
सरकारले १८ हजार १६५ किलोमिटर राष्ट्रिय सडकमध्ये चालु वर्षमा २ हजार ७०७ किलोमिटर सडकका खाल्डाखुल्डी पुर्ने लक्ष्य राखेको छ । सोही अनुसार अहिले धमाधम खाल्डा पुरी सडक सम्याउने काम भइरहेको सडक विभागका प्रवक्ता रामहरी पोखरेलले जानकारी दिए ।
विस्तारको क्रममा रहेका सडकमा निर्माण कम्पनीले नै र अन्य सडकमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले खाल्डाखुल्डी पुर्ने उनले बताए । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय अन्तर्गत हालसम्म ७६० किलोमिटर सडकको खाल्डाखुल्डी पुरिसकिएकाे उनले बताए ।
‘दशैंमा उपत्यका बाहिर जाने मुख्य सडकमा सवारीको चाप बढ्छ । अहिले विस्तारका क्रममा रहेका र अन्य सडकमा पनि धेरै खाल्डाखुल्डी छन्,’ उनले भने, ‘दशैं अघि नै ती सडकका सबै खाल्डा पुरिसक्ने निर्देशन दिएका छौं । सोही अनुसार अहिले देशभरका सडकमा खाल्डा पुर्ने काम भइरहेको छ ।’
सडकको खाल्डा पुर्ने काम दशैंको बेला मात्र नभई अरु बेला पनि नियमित हुने गरेको उनले बताए । ‘दशैँमा धेरै उपत्यका बाहिर जाने भएकाले सडकको खाल्डा परेर सम्याउन खोजिएको हो, यस्तो कार्यक्रम हरेक वर्ष निमित चलिरहेको हुन्छ,’ पोखरेलले चाणक्य पोष्टसँग भने ।
कुन कार्यालयले कति पुर्दैछ खाल्डा ?
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन इँटहरी कार्यालयअन्तर्गत चालु आर्थिक वर्षमा ३ हजार ८४६ किलोमिटर सडकमा ६१५ किलोमिटर सडक खाल्डाखुल्डी पुर्ने लक्ष्य लिएको छ । सो मध्ये हालसम्म ३०१ किलोमिटरमा खाल्डाखुल्डी पुर्ने काम पूरा भएको उनले जानकारी दिए । यो लक्ष्यको ३५ प्रतिशत हो ।
त्यस्तै, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं अन्तर्गत १ हजार २२२ किलोमिटर सडकको खाल्डाखुल्डी पुर्ने लक्ष्य राखिएको छ । सोमध्ये हालसम्म २३६ किलोमिटर सडकको मात्र खाल्डाखुल्डी पुरिएको उनले बताए । काठमाडौं अन्तर्गत ४ हजार ९६२ किलोमिटर सडक रहेको छ । बाँकी सडकमा खाल्डाखुल्डी पुर्ने काम धमाधम भइरहेको उनले बताए ।
त्यसैगरी, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखरा अन्तर्गत ४ हजार १२६ किलोमिटर सडक मध्ये ६४६ किलोमिटर सडकको खाल्डाखुल्डी पुर्ने लक्ष्य राखिएको छ । सोमध्ये हालसम्म लक्ष्यको २२ प्रतिशत अर्थात् १४३ किलोमिटर सडकको खाल्डाखुल्डी पुर्ने काम सम्पन्न भएको प्रवक्ता पोखरेलले बताए ।
सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेत अन्तर्गत ५ हजार २३२ किलोमिटर सडक मध्ये हालसम्म ८० किलोमिटर सकडको खाल्डाखुल्डी पुरिएको छ । यस कार्यालय अन्तर्गत २२४ किलोमिटर सडकको खाल्डाखुल्डी पुर्ने लक्ष्य राखिएको छ ।