काठमाडौंबाट लुक्ला उडेका ७ हेलिकप्टर खोटाङमा आकस्मिक अवतरण

खोटाङ । काठमाडौँबाट सोलुखुम्बुका लागि उडान भरेका ७ हेलिकप्टरले खोटाङको लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरेका छन् ।

सोलुखुम्बुको लुक्लाका लागि उडेका हेलिकप्टर खराब मौसमका कारण आज बिहान लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

खराब मौसमका कारण बिहान आठ बजेदेखि दिउँसो एक बजेसम्म सात हेलिकप्टरले आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवम् प्रहरी निरीक्षक टीकाराम बरालले जानकारी दिए। मौसममा सुधार आएपछि सबै हेलिकप्टर गन्तव्यतर्फ लागेका छन् ।

पर्यटक बोकेका हेलिकप्टर लुक्लामा अवतरण हुने अवस्था नभएपछि फर्किएर लामीडाँडामा अवतरण गरेको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका वडाध्यक्ष वीरेन्द्र मगरले बताए । विसं २०७६ देखि उडान बन्द रहेको लामीडाँडा विमानस्थल पछिल्लो समय हेलिकप्टरको आकस्मिक अवतरणका लागि प्रयोग हुँदै आएको छ ।

लामीडाँडा विमानस्थलको धावनमार्ग कालोपत्र गरिए पनि सञ्चालनमा आउन सकेको छैन । जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने भक्तजन तथा पर्यटकका साथै ओखलढुङ्गा र सोलुखुम्बुका स्थानीयलाई समेत सेवा दिने उद्देश्यले विसं २०२६ मा विमानस्थल निर्माण गरिएको थियो । त्यसको दुई वर्षपछि विसं २०२८ बाट कच्ची अवस्थामै नियमित उडान सञ्चालनमा ल्याएको विमानस्थलमा हाल कालोपत्रे भए पनि सञ्चालनमा आउन सकेको छैन । रासस

 

जलवायु परिवर्तनको असर, विश्वव्यापी विद्युत् उत्पादनमा 'ऐतिहासिक' गिरावट Read Previous

जलवायु परिवर्तनको असर, विश्वव्यापी विद्युत् उत्पादनमा 'ऐतिहासिक' गिरावट

दसैँका लागि टिकटको अग्रिम बुकिङ सोमबारदेखि खुल्ने Read Next

दसैँका लागि टिकटको अग्रिम बुकिङ सोमबारदेखि खुल्ने