कञ्चनपुर-कमला सडक : म्याद सकिन लाग्दा ३५% मात्र काम पूरा, दशैंपछि कालोपत्र थालिने

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत धनुषाको कमलादेखि सप्तरीको कञ्चनपुर सडक विस्तारमा ढिलाइ भएको छ । ठेक्का अवधि सकिन एक महिना मात्र बाँकी रहँदा आयोजनाको एक तिहाई मात्र काम पूरा भएको हो ।

कुल ८६.८२ किलोमिटर लामो यो सडक दुई खण्डमा विभाजन गरी काम भइरहेको छ । २०७७ कात्तिकदेखि स्तरोन्नति थालिएको यो सडकको ठेक्का म्याद आगामी कात्तिक ११ गते सकिँदै छ । तर, हालसम्म यसको कुल भौतिक प्रगति ३५ प्रतिशत मात्रै रहेको आयोजनाले जनाएको छ ।

ठेकेदारले कोरोनाको बाहना देखाउँदै काममा ढिलासुस्ती गर्दा सडक विस्तारले गति लिन नसकेको हो । कञ्चनपुर–कमला सडक विस्तार आयोजना प्रमुख खड्गलाल श्रेष्ठले चालु आवमा सडकको प्रगति ५० प्रतिशत पुर्याउने लक्ष्य रहेको बताए ।

चालु वर्षमा ३२ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखिएको उनले बताए । कामको गति बढाउन दशैंमा समेत निरन्तर काम गर्ने तयारी रहको उनले बताए ।

अहिले वाल लगाउने, बेस राख्ने, कलभर्ट निर्माण गर्ने लगायत काम भइरहेको उनले बताए । कालोपत्रपछि सडकको भौतिक प्रगति ह्वात्तै बढ्ने उनले बढाए ।

‘अहिले काम सामान्य गतिमा भइरहेको छ, अब गति बढाउन दशैंमा समेत काम गर्ने तयारी छ,’ उनले भने । साथै, दशैंलाई लक्षित गर्दै खाल्डाखुल्डी पुरिने पनि उनले बताए ।

सिराहातर्फको ४७ किलोमिटरमा कालोपत्रका लागि ठेक्का लागिसकेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार दशैँ तिहार सकिए लगतै कमला–कंचनपुर खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइने छ ।

आयोजना अन्तर्गत २५ वटा पुल मध्ये २१ वटा पुल निर्माणको काम भइरहेको हो । उनका अनुसार २१ वटा पुलहरु पाइल फाउन्डेशन अर्थात पिलर गाड्ने काम भई सब स्ट्रक्चर र सुपर स्ट्रक्चर निर्माणको काम भइरहेको छ । ४ वटा पुल भने ओपन फाउन्डेसन अर्थात जग खन्ने काम भइरहेको छ । बर्खाको कारण रोकिएको उक्त पुलको कामले समेत गति लिने उनको दाबी छ ।

आयोजना अन्तर्गत २०० कल्भर्ट निर्माणको काम भइरहेको छ । हाल दैनिक ५०० हाराहारी जनशक्ति परिचालन गरिएको निर्माण कम्पनीले जनाएको छ । जसमा ५० बढी चिनियाँ कामदार रहका छन् ।

आयोजनाको ठेक्का अवधि १ महिना मात्र बाँकी रहेकाले म्याद थपका लागि तयारी भइरहेको उनले जानकारी दिए ।सरकारले कमला–कञ्चनपुर सडककाे मासिक ५ प्रतिशत भौतिक प्रगतिसहित काम गर्ने लक्ष्य राखे पनि त्यो घाेषणामै सीमित भएकाे छ ।

एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा विस्तार भइरहेको यो सडकको ठेक्का चिनियाँ कम्पनी चाइना रेल्वे नं. २ इन्जिनियरिङ ग्रुपले पाएको छ । चाइना रेल्वेले भ्याटसहित १५ अर्ब ६६ करोड रुपैयाँमा ठेक्का पाएको हो । हालसम्म २ अर्ब बढी खर्च भइसकेको उनले जानकारी दिए ।

 

तातोपानी नाकामा बढ्यो चहलपहल, दैनिक ३० कन्टेर जाँचपास Read Previous

तातोपानी नाकामा बढ्यो चहलपहल, दैनिक ३० कन्टेर जाँचपास

विद्युत् विधेयक संसदमा पेश Read Next

विद्युत् विधेयक संसदमा पेश